विश्वविद्यालयमा गएर चार-चार वर्ष पढेर आर्जन गरेको ‘ब्याचलर्स डिग्री’ भनेको चानचुने र सानो डिग्री होइन। हामीले तीन-चार महिनामा गेसपेपर, गाइड र अड्कलबाजीको हर्कतले हात पारेको लटरपटर डिग्री भएर पो, यसको कुनै महत्व नभएको रहेछ।
विदेशका राम्रा विश्वविद्यालयमा पढेर ‘ब्याचलर्स गरेको व्यक्तिलाई उसको विषय र ज्ञानको क्षेत्रमा कसैले सजिलै चुनौति दिन र प्रश्न गर्न एकपल्ट सोच्नुपर्ने हुन्छ। उसले आफूले पढेको विषयमा धेरै विशेज्ञताको ज्ञान लिएको र त्यसको प्रायोगिक तादम्यता बुझेको हुन्छ। र, उसले काम गर्न थालेपछि त्यो ज्ञान र अनुभवको समाजले र त्यसका उपभोक्ताले अर्थपूर्ण फाइदा अनुभूत गर्न सक्छन्। तर, नेपालमा विश्वविद्यालय स्थापना भएको ६० बर्ष पुग्दा पनि भर गर्न लायक पाराले यस्तो हुनसकेको छैन।
म क्यानडामा कामले यहाँको सरकारी विद्यालयसँग आबद्ध छु। शैक्षिक योग्यतामा विश्व विद्यालयको ‘ब्याचलर्स डिग्री’ भएका र वर्षौंदेखि विद्यालयको नेतृत्व गरिरहेका प्रधानाध्यापकसँग ब्यवहार गरियो। क्यानडामा कसैले म स्कुलको शिक्षक हुँ, प्रधानाध्यापक हुँ भनेर परिचय दियो भने उसलाई मान्छेले उच्च सम्मानले हेर्छ र बोल्दा ब्यबहार गर्दा सोचिविचारी गर्छ। हाम्रा भुरालाई ‘एथिकल सिटिजन’ हुन र ‘गरिखाने’ बनाउन राम्रा कुरा सिकाइरहेको ‘असल व्यक्ति’ भन्ने सम्मान जागृत हुन्छ शिक्षक भन्ने बितिकै यहाँको समाजमा। यसबारे म अलि तल चर्चा गर्ने छु।
समाजमा मान्छेको दैनिक जीवनसँग जोडिएका अनेक समुदाय हुन्छन्। वन उपभोक्ता समिति, भजन-किर्तन मण्डली, महिला समूह, बजार व्यवस्थापन समिति, खेलकुद क्लब, किसानका संघसंस्था आदि समाजमा हुने यस्तै समुदायमध्ये विद्यालय एउटा समुदाय हो। र, यो समुदाय अरु जम्मै समुदायभन्दा भिन्न र संवेदनशील समुदाय हो। ‘स्कुल कम्युनिटी’ मा शिक्षक र कर्मचारीका रुपमा पढेलेखेका प्रौढहरु र सिकाइको यात्रामा रहेका बिभिन्न उमेर समूहका विद्यार्थीहरु हुन्छन्। र, ती विद्यार्थीलाई सिक्न र असल एवं सबल नगारिक बन्न अनेक दुख-भुक्त गरेर स्कुल पठाउने आम अभिभावक नागरिक दैनिकरुपले सशरीर हाजिर नभए नि विद्यालय समुदायसँग जहिले जोडिएका सक्रिय सदस्य हुन् भनेर बुझ्नुपर्छ।
राज्यले शिक्षामा गर्ने अरबौं लगानीको परिणाम भोलि के हुन्छ भन्ने कुरा आज सरकारले के पाठ्यक्रम बनाएको छ र त्यसको कार्यन्वयनस्थल विद्यालयमा कसको नेतृत्वमा के हुँदैछ भन्ने कुराले निर्धारण गर्छ।
देश र समाजलाई उन्नत, अनुशासित, उर्जाशील, सिर्जनशील र उद्यमशील केले बनाउँछ भन्दा त्यो देशको शिक्षाले कस्तो लक्ष्य, श्रोत/साधन र कार्यक्रममा आजका बालबालिकालाई लगाएको छ भन्ने कुरालाई हेर्नुपर्छ।
समृद्ध देश र नैतिकवान समाज निर्माणको यस्तो सघन जिम्मेवारी बोक्ने समाजको सबैभन्दा प्रतिष्ठित समुदाय ‘विद्यालय समुदाय’को नेतृत्व गर्न हेड सरको पद पाउँनु भनेको सानोतिनो उपलब्धि, गर्व र प्रतिष्ठाको विषय नै होइन।
कोही व्यक्ति कुनै विद्यालयको हेड सर छ भने यी र यस्ता धेरै कुराको मनन् गरेर एक मिनेट समय खेर नफाली काम गरेर देखाउने जीवनमा एकपल्ट मात्र आएको सुअवसरका रुपमा आफ्नो पद र जिम्मेवारीलाई बुझ्न ढिलो गर्नु नहुने रहेछ।
त्रिवि पढ्दाका मेरा भाषाशाश्त्रका गुरू, मेरो बुझाइमा उहाँलाई अध्येता, चिन्तक, विश्लेषक, लेखक, समीक्षक सबैथोक भन्दा पनि हुन्छ, राम लोहनीले प्रअको शैक्षिक योग्यता बढाउने प्रस्तावको हल्ला आएपछि तल प्रस्तुत फेसबुक स्टाटस हाल्नुभयो।
राम सरले भन्नुभएको शैक्षिक डिग्रीभन्दा अलग क्षमता, लगनशिलता, इमान्दारिता, जिम्मेवारी नभएसम्म जे-जे डिग्री भए नि केही लाग्दैन भन्ने कुरा यहाँ अति नै मनासिब र अर्थपूर्ण छ।
प्रअको डिग्री सन्दर्भमा राम सरले उठाएका क्षमता, लगनशिलता, इमान्दारिता, जिम्मेवारीका कुरा गरौँ यहाँ।
एउटा विद्यालयको प्रअको हकमा क्षमता भनेको अति नै बृहत कुरा रहेछ। विश्वविद्यालयले दिने डिग्रीका अलावा विद्यालयमा के हुनुपर्छ भन्ने स्पष्ट दृष्टिकोण, पाठ्यक्रमको गहिरो ज्ञान र मानव संसाधनको समुचित प्रयोग र व्यबस्थापनको उत्कृष्ट ज्ञान र अनुभव एउटा हेड सर हुनका लागि अत्यावश्यक कुरा रहेछन्।
विद्यालय हाताभित्र समस्याको सही पहिचान गर्न, सबैलाई जीतको महशुस गर्ने द्वन्दको कुटनीतिक र मुस्कानसहितको नरम व्यवस्थापन गर्न, कारण र परिणामको उत्कृष्ट विश्लेषण गर्न, सकारात्मक सामाजिक सम्बन्धको निर्माण गर्न र कायम राख्न एउटा प्रअले कुशलतापूर्बक जानेको हुनेपर्ने रहेछ सहकर्मीको योग्यता र योगदानको सही पहिचान र कदर गर्न, विनम्रता र लचकता देखाउँन, जमिन्दारिपन नदेखाउँन, श्रोत-साधनको सर्बोत्तम प्रयोग र उपयोग गर्ने हुटहुटी देखाउन, गफ र खुराफातभन्दा सिकाइका परिणाममा विश्वास गर्ने अडान लिन, नीति नियमका कुरामा कम्जोर सम्झौता नगर्ने खुबी हुन् र तदनुरुप कार्य गर्नसक्ने व्यक्ति प्रअ हुनुपर्ने रहेछ।
नेपालको सन्दर्भमा अर्को एउटा क्षमता पनि हुनुपर्छ विद्यालयको प्रअको। त्यो के भने स्थानीय ‘पार्टी पोलिटिक्स’का खुराफात, पानी बाराबार, मारमुर्ङ्ग्री, राजनीतिक दलका कार्यकर्ताको ब्यवहार र मनोगतिको सही व्यबस्थापन गरेर, आफ्नो टाउको जोगाएर विद्यालय चलाउनुपर्ने क्षमता।
यो ठट्टा जस्तो व्यंग्य जस्तो सुनियो होला तर यो एउटा गम्भीर र नभइ नहुने क्षमता हो हेड सर हुनलाई नेपालमा। मैले आफैं काम गरेका, पढेका र नजिकबाट नियालेका सरकारी विद्यालयका हेड सरहरुको हाल हविगत देखेर जानेको कुरा हो। साथसाथै, तिनै हेड सर पनि त्यही संस्कृतिकै अनुसरण गरेरै हेड सर भएका हुन्। उनी पनि त्यही पार्टी पोलिटिक्सको एक घटकका हिमायती वा पक्ष हुन् स्थानीयरुपले भन्ने बिर्सनचाहिं मिल्दैन।
क्यानडामा विद्यालय शिक्षाको तह तीन हुन्छ। ‘एलिमेन्ट्री’ स्कुल कक्षा १-६, ‘जुनियर हाइ’ स्कुल कक्षा ७-९ र ‘हाइ स्कुल’ कक्षा १०-१२। तीन वटै तहमा हेड सर हुन ‘ब्याचलर्स डिग्री’ ले पुग्छ। त्यसैले एउटाको साटो बरु दुई-तीन विषयमा ‘ब्याचलर्स डिग्री’ गरेका वा ‘मास्टर्स डिग्री’ गरेका र कतै-कतै पी.एचडी नै गरेकाहरु विद्यालयको नेतृत्व गर्न चाहिने अन्य योग्यताले खारिएर यता ‘प्रिन्सिपल’ भनिने हेड सर हुन्छन्।
कुनै एउटा प्रअ क्यानडाका स्कुलमा सरकारको, शिक्षा मन्त्रालयको एक यस्तो प्रत्यक्ष, सशक्त र जिम्मेवार प्रतिनिधि हो कि उसले आफ्नो विद्यालयमा सरकारले पाठ्यक्रममार्फत तोकेका शिक्षाका लक्ष्य हासिल गर्न गर्नु, गराउनुपर्ने काम बाहेक केही जान्दैन। ठट्टा, मजाकमा जागिर खाने, आलस्य र लाखार लुखुरमा दिन गाल्ने भन्ने चान्स नै हुँदैन यताका हेडसरलाई।
विद्यालय परिसरमा टेकेपछि हेड सरले बोल्ने, भेट्ने, फोन गर्ने, मिटिङ गर्ने, स्कुल बाहिरको मिटिङ र काजमा जाने, परामर्श लिने दिने सबै काम ‘मिसन फलानो’ अन्तर्गत खुब लगनका साथ हुन्छन्।
सबैसँग एकाघरको दाजुभाइ, दिदीबहिनी जस्तो ब्यबहार गर्ने, समस्या के के छन् छलफल गर्ने, काम गर्ने उत्साह र प्रेरणा बढाउने कुरा गर्ने, मिजासिलो र विनम्रवत् प्रस्तुत हुने, हाँसोठट्टा प्रशस्त गर्ने र जोकरजस्तो पनि हुने तर नीति नियम र ब्याबसायिक अनुशासनका कुरामा फिटिक्क सम्झौता नगर्ने हुन्छन् यताका हेड सर।
कुनै बेला हेड सर पढाइरहेको कक्षामा फुत्त छिर्छ। ऊ आउँदा मिलिटरीको कर्नेल एक्कासी देखा पर्दा सिपाहीहरू डराएजस्तो गर्नुपर्दैन। मेरो कक्षामा आज एउटा शक्तिशाली, प्रेरणादायी र मिजासिलो साथी छिर्यो, उसको आगमन अर्थपूर्ण छ तर म आफ्नो नियमित पढाउने काममा रोकिनु पर्दैन उसले रोक्न नभनेसम्म वा ध्यानाकर्षण नगरेसम्म भन्ने कुरा शिक्षकले बुझेको हुन्छ।
उसले सबैलाई ‘हेल्लो’ ‘हाइ’ ‘गुड मर्निङ’ भनेर‘ ग्रिटिङ’ गर्यो, हातमा बोकेर आएको कुनै बाल कथाको पुस्तक पढिदियो, केही जोक भन्यो, मुख बिगारेर भुरालाई हँसायो वा एक ‘राउण्ड’ नाँचेर बाहिरियो भने त्यो दिन शिक्षक विद्यार्थीलाई खुब अतिरिक्त रमाइलो भयो।
यस्ता कुराले हेड सर, शिक्षक र विद्यार्थीबीच थप हार्दिकता, सम्मान र कामप्रतिको लगनशिलता बढाउने रहेछ।
शिक्षक वा ‘प्रिन्सिपल’ हुनुको व्यावसायिक ‘प्रोटोकल’ सबैलाई थाहा भएपछि र सबैले त्यो अनुसार चल्नुपर्छ भन्ने भएपछि हेड सरका कुरा काट्ने, विवाद गर्ने, अवज्ञा गर्ने भन्ने परिस्थिति नै आउँदैन यता।
हेड सर आफैंमा एउटा यस्तो अनुशासित र अकाट्य शक्ति हो एउटा विद्यालयको कि उसको छायाँ वरपर विद्यालयमा पढ्ने, पढाउने र लक्ष्य हासिल गर्ने बाहेक कुनै अर्को काम हुनै पाउँदैन।
चुनावमा गुमनाम भोट दिनेबाहेक कुनै पनि राजनीतिक दलको सदस्य हुने, तिनको प्रवक्ता जस्तो भएर खुल्लमखुल्ला बोल्ने हिंड्ने भन्ने कुरा सर्वथा असम्भव कुरा हो यहाँको हेड सरले र शिक्षकले।
पेशाको ‘प्रोटोकल’ ले र व्यक्तिगत अनुशासनले यस्तो गर्न दिँदैन शिक्षकलाई। यहाँ कुनै शिक्षक हेड सरको पार्टीभन्दा इतर पार्टीको हुने र उसले हेड सरलाई आफ्नो दलको रवाफ, शक्ति देखाएर धम्क्याउने, नटेर्ने, मनोमानी गर्ने वा हेडसर सतारुढ दलको हुने र अरुलाई अर्थ न बर्थमा पेल्ने भन्ने कुरा यो देशको विद्यालयमा कल्पना पनि नगरिने कुरा हो।
शिक्षकले पढाउने र आफ्नो प्रगति विवरण प्रशासनमा बुझाउने र त्यसप्रति जवाफदेही हुने बाहेक कुनै पनि लप्पन छप्पन गरेको पाइयो भने जागिर नै जाने जोखिम हुन्छ।
यो सयौं बर्षदेखि स्थापित कडा परिपाटी हो क्यानडामा जहाँ शिक्षक वा प्रअ बनेर प्रवेश गरेपछि प्रणाली र व्यबस्थापनले स्वत: मान्छेलाई आफ्नो थान्कोमा ल्याउँछ।
विश्व विद्यालयबाट बी.एड. वा एम.एड. गरेको वा कुनै पनि डिग्री लिएको तर अनिवार्य तोकिएको ‘टिचर्स एजुकेसन’ को अर्को डिग्री वा कोर्स पनि लिएको, दुई-चार वर्ष विद्यालयमा पढाएको, कुशल नेतृत्वको योजना, दृष्टिकोण र अठोटमा अडिग रहेको ठहर भएपछि त्यो व्यक्तिलाई स्कुल बोर्डले विज्ञापन खुलाएर अन्तर्वार्तामार्फत नियुक्ति दिन्छ हेडसरको।
विद्यालयको प्रधानाध्यापक पद भनेको दैनिक पढाउने शिक्षकको पद होइन। तर, शिक्षण सिकाइका सबै आयाम, विधि, नियम र प्रकृति जानेको मान्छे भने एउटा प्रअ हुनैपर्छ। यो प्रशासनिक र व्यबस्थापकीय पद हो।
यस्तो पदका लागि फगत कुनै विषय विशेषमा लिइने जस्तै: अंग्रेजी भाषा, अर्थशास्त्र, जनसंख्या आदि डिग्रीको योग्यता बढोत्तरी गरेर मात्र हुने होइन।
मानौं, एउटा हेड सरले अंग्रेजीमा एम.एड.गरेको छ र फेरि अंग्रेजीमै एम.फिल.पनि गर्यो अब उसको योग्यता पुग्यो त हेड सर हुने? सामान्यत: डिग्री जति धेरै लियो त्यति राम्रो हो।
डिग्री थपेर हानि कतै छैन। तर, एउटा विद्यालयलाई उत्कृष्ट परिणाममा चलाउन त्यसको नेतृत्वमा हुनुपर्ने सबै कुरा फगत डिग्री थपेर पाइन्छ त?
हेड सरका विद्यमान डिग्रीमाथि चर्चा गरिएका क्षमता, लगनशीलता, इमान्दारिता र जिम्मेवारी बोधका थप ब्यवहारिक डिग्री नपुगुञ्जेल अझै डिग्रीको अभावै हुन्छ हेड सर र शिक्षकमा।
हेड सर भएपछि एकदमै अध्ययनशील पनि हुनुपर्ने रहेछ। यताका हेड सर हुनसम्मका अध्ययनशील हुन्छन्। बिदाका दिन पनि घरबाट के के उपयोगी भिडियो, जर्नल, पुस्तक, फोटो, इन्टरनेट लिंक र सारांश इमेलमा सबै स्टाफलाई पठाइरहेका हुन्छन्।
स्टाफ मिटिंङमा यो यो पढ्दा नयाँ कुरा जानिन्छ भनेर चर्चा गरिरहेका हुन्छन्। विश्व विद्यालयको एउटा डिग्री त जागिर खान योग्यता पुग्ने आफ्नो पुरानो डिग्री भयो। त्यो डिग्री छँदैछ भनेर आफ्नो पेशाका क्षेत्रमा हुनुपर्ने निरन्तर सिकाइको अध्ययन खोज भन्नु फिट्टो नगरी ‘कमनसेन्स’ को भरमा धाँक रवाफ देखाएर टप्परटुँइया गफ जोतेको भरमा यताको हेडसर एक दिनभन्दा बढी दुई दिन चल्नेवाला छैन।
शिक्षण सिकाइका क्षेत्रमा के के नयाँ अध्ययन अनुसन्धान भएका छन्, विद्यालय व्यवस्थापन र प्रशासनबारे कुन कुन नयाँ पुस्तक र जर्नल लेखहरु छापिएका छन्, कुन उपयोगी भिडियो कहाँ पाइन्छ, आफ्नो पेसामा बदलिँदो ‘ट्रेन्ड’ के छ सवै कुरामा अद्यावधिक हुन उतिकै जरूरि हुन्छ यहाँको हेड सरको पदलाई।
पाँच, दश वा बीस वर्ष पुरानो विश्वविद्यालयको आफ्नो औपचारिक डिग्री बाहिर एउटा हेड सरले अध्ययन, खोज, चासो, ज्ञान र सूचनाको सदा भोको भएर दैनिक कामकाज र अनुभवको अर्को निरन्तर डिग्री लिइरहने जागरण र लचकता चाहिँ नदेखाउने हो भने र उच्च उच्च डिग्रीको योग्यता मात्रै थपिएको हेड सर आफ्नो कागजे डिग्रीको घमण्डले छोइन सक्नुको अहंकारी बन्ने बाहेक केही हात लाग्दैन।
नेपालमा विश्वविद्यालयको कुनै डिग्री लिएको प्राज्ञ आफ्नो लटरपटर नै सही डिग्रीपछि ऊ स्वतन्त्र हैशियत भएको प्राज्ञ नै रहन पाउँदैन। कि, कांग्रेस बुद्धिजीवी हुनुपर्छ कि त कम्युनिष्ट। अनि मात्र उसले कम्तिमा दालभात खाने जागिर पाउँछ।
आफ्नो प्राज्ञिक ब्रम्हले देखे जानेको कुरा बोल्ने रगर्ने कुरा त सपनामा देख्न नि छोडिदिनुपर्ने स्थिति हुन्छ। यो स्थिति देशको राजनीतिक दलका नेताले बनाएको सबैभन्दा कुरूप कु-प्रथा हो नेताले आफ्ना कार्यकर्ता र नातेदारलाई पहिला गर्ने भएपछि जिउँन र परिवार पाल्न पनि एउटा डिग्रीधारी नेपालीले आफ्नो राजनीतिक रंग खुलाउनु आवश्यक छ नेपालमा।
आफ्नो पार्टी, शक्ति र अन्य खेलोफड्को मिलाउन सक्नेले आफ्नो पदको जिम्मेवारीलाई खासै मतलब नगरे नि मज्जाले जागिर खान पाइने व्यवस्था मिलाइएको छ नेपालमा। फलस्वरुप, हाम्रा हेड सरका झोलामा बिद्यालयका योजना र ब्यबसायिक ज्ञान, सीप बढाउन सहयोग गर्ने पुस्तक, पर्चा र कार्यक्रमका दस्ताबेज होइन, आफ्नो पार्टीका घोषणापत्र, बैठकका माइन्यूट पुस्तिका वा आफूले चलाउने एनजीओका ‘प्रपोजल ड्रयाफ्ट’ का खेस्रा बढी हुन्छन्।
अनि भन्ने दिन आइहाल्छ- ज्ञान, सिद्धान्त, अनुसन्धान र स्वतन्त्र प्राज्ञिक अभ्यास र हैशियत ‘भाँड मे जाए’ भनेर। हेड सरको डिग्री थप्नु पहिले भत्काउनुपर्ने कुरा यो हो।
एउटा सरकारी विद्यालयका प्रअले स्थानीय विपक्षी ‘पार्टी पोलिटिक्स’ को खुराफात, असहयोग, धम्की र षड्यन्त्रको युद्व जितेर ‘सर्भाइब’ गर्न सक्छन् भने बल्ल उनले स्कुल जसोतसो चलाउने हो नत्र पद छोडेर हिँड्नु नि पर्छ।
कुनै ठाउँमा यो अलिक कम होला कतै धेर तर देशब्यापि छ यो रोग। हेडसरको काम विद्यालयमा गुणस्तरीय शिक्षा दिइने कामको ‘ग्यारेन्टी’ गर्दै विद्यालय परिवारलाई क्षमतावान नेतृत्व प्रदान गर्ने हो हाम्रा शासकहरुले भत्काउन कहिले नचाहेको यस्तो दुरूह स्थानीय पार्टी पोलिटिक्सको अड्चनले गर्दा हेडसरलाई पदको जिम्मेवारीबाहेक अर्को ठूलो युद्व लडिरहनुपर्छ सधैं।
यो हाम्रो समाजको यथार्थ हो। यस्तो कुप्रथा कि भत्काउनु पर्यो कि शासकहरुले यो त छोडिन्न भन्ने हो भने यस्ता कुरामा कसरी सन्तुलन बनाएर काम गर्ने हो भनेर हाम्रा राष्ट्रसेवक कर्मचारी, शिक्षक, स्वतन्त्र व्यबसायीलाई दीक्षित गर्न हाम्रा विश्वविद्यालयम ‘स्कुल अफ लोकल पार्टी पोलिटिक्स म्यानेजमेन्ट’ नामको छुटै संकाय खोलेर पढाउन थाल्नुपर्यो।
अन्तत: अरू कुरालाई ऐजन-ऐजन राखेर विद्यालयको हेड सरको ठूलो ठुलो डिग्री थप्ने कुरा यति सतही छ कि सुन्दा के के न गरेजस्तो सुनिने तर परिणाम र प्रवृति जहाँको त्यहीँ हुने हल्लाबाजी मात्रै हुने हो।