मैले आफ्नो वाल्यकालमै सुनेंको थिएँ- प्रचण्ड धेरै बर्ष पहिले नै हराएको कुरा। जब केही बुझ्ने भएँ, मैले काकाका बारेमा सोधें पनि। गाउँलेको भनाइ थियो- काका उछिट्टिएर नेपालको पश्चिम पहाडी जङ्गल पसे।
उमेर बढेसँगै प्रचण्डको बारेमा थप खोजी गर्ने चाहना पनि बढ्यो। यही क्रममा पल्टाएँ- संखुवासभा मादीका दाहालको वंशावली। तर, वंशावलीको कुनै पनि रुखका हाँगाले उनलाई छोएन। ठानें, वंशावली बन्नुपूर्व नै काका प्रचण्ड हराएका रहेछन्।
भर्खरै जुगाको रेखी बसेको थियो, म राम्ररी नै बुझ्न सक्ने उमेरको भैसकेको थिएँ।काकाले देशमा जनताको शासन स्थापना गरेर आमुल परिवर्तन ल्याउन भन्दै सशस्त्रजनयुद्धको घोषणा गरको खबर आयो। त्यसको केही समयपछि नै काकालगायतका सहकर्मीको टाउकोको मोल तोकिएको खबर फैलियो।
गोलीगठ्ठा बोकेका काकाका सेना र सरकारी सेनाबीचको दोहोरो लडाईँले धेरै आमाको सिउँदो पुछियो, कोख र काँख रित्तियो। धेरै छोराछोरी अपाङ्ग बने, धेरै घरवारबिहिन-बेसहारा बने। कलम समात्नुपर्ने स्कुले केटाकेटीसमेत गोलीगट्ठा बोकेर जङलतिर पसे। केही युवा पेट पाल्न बिदेशतिर लागे भने केही सुरक्षाका लागि छिमेकी देशमा शरणाथीसरह बसे।
गाउँमा जग्गा जमिन कब्जा गरियो। बैंक लुटियो। जनकारवाहीका नाममा निर्दोष मान्छेसमेत मारिए। छोरी-चेली बलात्कृत भए। बाटो-घाटो, घर-पधेरो यत्रतत्र छापा मारी सरकारी सन्यन्त्रले आतंक नै मच्चायो। दोहोरो मारबाट जीउज्यान बचाउन पीडितहरु पहाड छोडेर मधेश र राजधानीतिर लागे। उद्योग-धन्दा, कल-कारखाना बन्द हुँदै गए र नेपालको अर्थतन्त्र धरासायी भयो।आफ्नो मुलुकमा आफैं शरणार्थी भएर खुम्चिएर बस्न बाध्य पारियो।
देशमा आगो सल्किएको थियो, रात-बिरात हिड्नसक्ने अवस्था थिएन। कुन दिन गोलीको निशाना बनिने हो कुनै ठेगान थिएन।
यस्तो अवस्थामा अचानक प्रचण्ड हाम्रो घरमा झुल्किए।उनीसँग हिलाम्मै भएका पाँचवटा गाडीमा बाबुराम भट्टराई र रामबहादुर थापालगायतका अन्य सहयोगी नेता कम्रेड पनि थिए। गाडीमा लागेको हिलो हेर्दा पिच नभएको गाउँको कुनै चोरबाटो समातेर आएको मैले अनुमान गरेँ।२० मिनेटअगाडि मात्र उनी आउँने कुराको जानकारी उनका एक सहयोगीले हामीलाई दिएका थिए। टाउकोको मोलमोलाई भएको र आन्दोलनसमेत उत्कर्षमा पुगेको बेला आखिर काठमाडौं किन आए त काका प्रचण्ड? यो प्रश्नको उत्तरको खोजीमा थिएँ, सोधें पनि तर सहयोगीले बताउँन चाहेनन्।
छोटो परिचयपछि मैले प्रचण्डलाई नै सोधे- यस्तो अवस्थामा किन आउँनुभएको? सानो कदका प्रचण्डले प्रफुल्ल मुद्रामा एउटा हातको मुठ्ठी कस्दै कुम हल्लाउदै जवाफ दिए- 'हाम्रो आन्दोलन सफल भएको छ। अव जनताको सासन छिट्टै शुरु हुँदैछ।' काका प्रचण्डलगायत अन्य सबै एकदम फुर्तिला, उत्साहित र बिजयी खेलाडीझै देखिन्थे। कुरै कुरामा थाहा लाग्यो- प्रचण्डलाई सरकारी पक्षले शान्ति सम्झौताका लागि वार्ता गर्न बोलाएको रहेछ। केही घण्टापछि प्रचण्डलगायतका काम्रेड आएकै गाडीमा फर्किए। तर, त्यसपछि घरमा सरकारी आर्मी आएर दिन रात सोधपुछ गर्ने क्रम शुरु भयो।
यो क्रम चलिरहेकै थियो, त्यसको करीव दुई महिनापछि युद्धबिराम घोषणा भयो। केही समयको कसरतपस्चात शान्ति सम्झौता पनि सम्पन्न भयो। काकाले भने अनुसार देशमा जनताको शासन आयो। सात बर्ष लगाएर संविधान पनि बनाईयो। अत्याधिक मतसहित प्रचण्डको पार्टीले पहिलो चुनाव पनि जित्यो। काकाले दुईपटक प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहेर देश हाँक्ने अवसर समेत पाए। अर्का सहकर्मी नेता बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीको स्वाद चाख्ने मौका पाए।
सत्ताको कुर्सी चुम्वकसरह हुने रहेछ। बाबुको बिर्ता नै पाए झैं सरकार आलोपालो गरेर चलाउँने क्रम जारी रह्यो। ब्यक्ति फेरिए, ब्यबस्था फेरियो तर नेताको आचरण पटक्कै फेरिएन। जनआन्दोलनका बाचा पूरा नगरेको, आन्दोलनकारी नेताको सम्वृद्धि भएको तर देश खोक्रो बनाइएको आरोपका बिच जनतामा निराशा बढेर गयो। धेरै युवा खाडीको रापमा पेट पाल्न बाध्य भए।
यसैबीच काकाको पार्टी पटकपटक गरेर चोइटियो। बाबुराम, मोहन वैद्य, नेत्रबिक्रम चन्द, गोपाल किरातीलगायतका नेता अलग भए। पार्टीको साख क्रमिकरुपले गिर्दै गयो। काका निरिह देखिए।
शायद प्रचण्डले समयलाई चिनेछन्, जनताको मनस्थिति बुझेछन् क्यार। अन्तमा उनी तत्कालिन एमालेसँग पार्टी एकता गर्न तयार भए। त्यही पृष्ठभूमिमा चुनावी मोर्चा बनाएर संयुक्तरुपमा चुनावमा होमिए। परिणामस्वरुप पछिल्लो निर्वाचनमा ठूलो बहुमत ल्याउन सफल भए। अहिले त्यही पार्टीको सरकार छ, प्रचण्ड सत्तारूढ दल नेकपामा दुई अध्यक्षमध्ये एक अध्यक्ष हुन्।
उनै प्रचण्ड गएको साता अमेरिका आएका थिए। कुनै समय थियो, काका अमेरिकालाई पूँजिवादी, साम्राज्यवादी र आफ्नो प्रमुख दुश्मन भन्दै मुठ्ठी कस्थे। तर, सयम सधैं एकनाश रहदैन। जीवनकै एक कठिन मोडमा रहेका उनी मुठ्ठी कस्दै हैन, हात खोलेर अंगालो मार्न पनि अमेरिका आएका थिए।
मान्छे परिवर्तनशिल हो। त्यसैले समय र काल अनुसार चल्न सिक्नु पर्छ। हो, उनी परिवर्तन भएका रहेछन्, हिजोका प्रचण्ड आज छैनन्।
अमेरिकास्थित नेपाली दूतावासले बिभिन्न पक्षका बिज्ञ निम्त्याएर काकासँग अन्तरक्रिया गरेको थियो। कार्यक्रम शुरु हुनुपूर्व राजदुत अर्जुन कार्कीले हुकुम गरे- 'फोटो नखिच्नु होला। समाचार नबनाउनु होला।धेरै बिवाद छ। यस्तो क्रियाकलापले यो टोपी (नेपाली टोपो देखाउँदै) को बेइज्जत र सिङ्गो देश र नेपालीकै बेइज्जत हुन्छ।'
नेताजी फर्किएपछि मात्र फोटो र समाचार राख्न राजदूत कार्कीको उर्दी थियो। उनको उर्दीले मलाई भने बेचैन बनाएको थियो। फ्री प्रेस र सूचनाको हकको सम्मान गर्नुपर्ने एउटा विशाल प्रजातान्त्रिक मुलुकमा आएर सूचना नै लुकाउन दिइएको उर्दी पटक्कै जायज थिएन।
श्रीमती सीता दाहालको उपचारका लागि निजी भ्रमणमा आएका प्रचण्डलाई केन्द्रमा राखेर अमेरिकामा रहेका नेपालीले सामाजिक सञ्जालका भित्ता मजैले पोतेका थिए। यसो गर्दा पक्षको समर्थन र बिपक्षको विरोध मात्र थिएन, आफ्नो दिमाग, चाकडी र अनुमान पनि छरपष्ट भएको थियो।
सामान्यभन्दा पनि सामान्य मानवता र सम्वेदनशीलताको ख्याल नगरी हाम्रा काकालाई सामाजिक सञ्जालमा उडाइएको थियो।अमेरिकाका नेपाली समुदायको यो ब्यबहार भने मलाई पटक्कै मन परेको थिएन। उनले बिगतमा गरेका राम्रा/नराम्रा पक्षमा बहस गर्न सकिन्छ। तर, मानवताजस्तो सम्वेदनशील बिषय र अवस्थामा सबैले सम्बेदनशील हुनुपर्ने जस्तो लाग्छ मलाई।
अमेरिका प्रबेश भएलगत्तै प्रचण्डका बारेमा अनेकौ भ्रम छरिए। अमेरिकामा काकाको भ्रमणका बारेमा भ्रम छर्न दूतावासको भूमिका पनि कम जिम्मेवार रहेन। दूतावासले ठाडै सूचना लुकाउन उर्दी जारी गर्नु प्रेस स्वतन्त्रताको बर्खिलाप हो। नेपालका पूर्वप्रधानमन्त्री, सत्तासिन दलका अध्यक्ष तथा देशमा परिवर्तन ल्याउने एक प्रमुख योजनाकार तथा नेताजस्तो ब्यक्तित्व आउँदा सूचना नलुकाई दूतावासले बेलाबेलामा बिज्ञप्ती जारी गरेको भए कसैले अनुमानका भरमा समाचार बनाउने र नानाभाति कुराले सामाजिक सञ्जाल रंगाउने अवस्था आउँने थिएन।
राजदूत कार्कीको उर्दीपश्चात काका प्रचण्ड सभाहलमा प्रवेश गरे। उनको छेउमा राजदूत र छोरी गङ्गा दाहाल बसे। सभाहलको वरिपरि गोलो गरेर वाशिङ्टन डिसी मेट्रो क्षेत्रका बिज्ञ बसे।प्रचण्ड हतास, चिन्तित र तनावमा भएको सजिलै अनुमान गर्न सकिन्थ्यो। उनको अनुहारमा कुनै चमक थिएन, न पहिलाझै फुर्ति नै। कुनैबेला संसार नै हल्लाउने गरी मुठ्ठी कसेर गर्जिने हाम्रा काका उनी यतिबेला जुङा नभएको बाघझैं देखिन्थे।
कारण अनेक थिए, पहिलो थियो- एकै वर्षको अवधिमा दुई सन्तान गुमाउँनुको पीडा। दोश्रो थियो- आफ्नी पत्नीको बिग्रदो स्वास्थ अवस्था। तेश्रो थियो- राजनीतिमा गिर्दो शाख। चौथो थियो- जनयुद्धमा देखाइएको सपना र मारिएकाका बारेमा खेप्नुपरेको आरोप। पाचौ थियो- अमेरिका आउनुपूर्व भेनेजुएलासम्बन्धी उनले राखेको बिवादित भनाइ।सहभागी विज्ञले देशको सम्वृद्धिका लागि आफ्ना बिचार र सल्लाह दिए। कसैले पनि उनको व्यक्तिगत र विबादित बिषय उठाएनन्।
बिबादित बिषय त्यसमा पनि विशेषत: भेनेजुएला प्रकरण नउठेपछि उनको अनुहारमा हल्का चमक देखियो। त्यही चमक सापट लिएर उनले हल्का मुस्कानका साथ नेपालको समृद्धिका बारेमा चर्चा गरे, एसियाको पूर्व र बर्तमान समृद्धिको अवस्थाका बारेमा ब्याख्या गरे।आफूले धेरै 'सेक्रिफाइस' गरेर शान्ति सम्झौता सम्पन्न गरेको र त्यहीअनुरुप संविधान बनाई राज्यलाई नयाँ दिशा दिन तत्कालिन एमालेसँग पार्टी एकीकरण गरिएको जानकारी गराए। विज्ञहरुलाई बिगतबाट पाठ सिक्दै बहुमतको यो सरकारलाई दीगो बनाई देशलाई समृद्ध बनाउन सहयोग गर्न अनुरोध गरे।आफू अझै १० बर्ष राजनीतिमा सकृय रहनेसमेत जानकारी गराए।
कार्यक्रम हुँदै गर्दा अमेरिकाका बिभिन्न राज्यबाट आएका उनको पार्टीका शुभिचिन्तक पटकपटक सभाहलमा प्रवेश गराइए। सुन्नमा आएअनुसार काकाले दिनभरि नै उनीहरूलाई राखेर अलग्गै कोठेबैठक पनि गर्न भ्याए।आहा ……. प्रचण्डले शुभचिन्तक त मनग्गै बनाएका रहेछन, विज्ञभन्दा पनि भिन्दै परिचयका शुभचिन्तकको भिँड! फर्कने बेलामा प्रचण्डको बडी-ल्यांग्वेजलाई नियालेर हेरेँ र मनमनै सोचेँ -आखिर मान्छे हुन् काका प्रचण्ड पनि, यति धेरै तनाव कसरी थेगिरहेका होलान्!