बंगलादेशी प्रधानमन्त्रीद्धारा बर्माको रखाइन प्रान्तलाई बंगलादेशमा विलय गराउने प्रस्तावको विरोध

Agency

बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाले म्यानमार (बर्मा) को रखाइन प्रान्तलाई बंगलादेशमा विलय गराउने अमेरिकी प्रस्तावलाई आफूले अस्विकार गरेको खुलासा गरेकी छिन्।

उनले अमेरिकी प्रस्तावले यो क्षेत्रमा आगो फैलाउने काम हुने दावी गरेकी छिन्। एसिया प्यासिफिक उप–समितिका अध्यक्ष ब्रेडले शर्मनले १३ जुनमा दक्षिण एसियाका लागि बजेटको छलफल गर्ने क्रममा यो प्रस्ताव राखेका थिए।

शर्मनले बैठकमा बर्माका लाखौं रोहिंग्या छिमेकी देशमा शरणार्थीको रुपमा बसिरहेको र यो अवस्थामा बंगलादेशमा रखाइन प्रान्तलाई विलय गराउँदा उचित हुने प्रस्ताव राखेका थिए।

प्रधानमन्त्री हसीनाले भनिन्, ‘अमेरिकी सांसदलाई एउटा स्वतन्त्र देशमा समस्या उब्जाउने कुनै अधिकार छैन। अमेरिकाले जुन मुद्धा उठाएको छ, त्यो पहिलेदेखि नै समस्याग्रस्त छ। रखाइन क्षेत्रमा अशान्ति छ। त्यहाँ उग्रवाद र अशान्तिको माहौल छ।’

उनले यो क्षेत्रमा शान्ति स्थापना गर्न आफूहरू प्रयासरत रहेको तर अमेरिकाले डढेँलो झै आगो लगाउन प्रयास गरिरहेको आरोप लगाइन्।
उनले अमेरिकी प्रस्ताव आफूहरूलाई स्विकार्य नभएको बताइन्।

हसीनाले भनिन्, ‘हाम्रो सरकारले विलयको अनुमति दिँदैन्। हामी म्यानमारको स्वतन्त्र अस्तित्वको सम्मान गर्छो।’

प्रधानमन्त्री हसीना भर्खरै चीनको भ्रमणबाट फर्किएकी हुन्। उनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग रोहिंग्या समस्याको हलका लागि अनुरोध गरेकी थिइन।
बर्माबाट भागेका रोहिंग्या समूदाय सबैभन्दा बढी बंगलादेशमा बसोबास गर्दै आइरहेका छन्।

 

 

प्रकाशित मिति: : 2019-07-10 19:33:43

प्रतिकृया दिनुहोस्