दुबई जेलमा २ सय नेपाली, मदिरा पिउनेदेखि फिरौती माग्नेसम्म

दुबईमा महिलाहरूलाई राखिने केन्द्रीय जेल। युएईमा १२ नेपाली महिला जेलमा छन्। Agency

युएईमा बीएल (भाग–५)

सरकारी तथ्यांकलाई आधार मान्ने हो भने सयुक्त अरव ईमिरेट्स (युएई) मा हाल २ लाखको हाराहारीमा नेपालीहरू वैदेशीक रोजगारीको सिलसिलामा आएका छन्। 

अझ, विभिन्न माध्यम र चोरीबाटोबाट आएको तथ्यांक लिँदा युएईमा नेपालीहरूको संख्या २ लाख ५० हजारको हाराहारीमा भएको युएईस्थित नेपाली राजदुतावासको अनुमान छ।

रोजगारीको सिलसिलामा युएई आएका अढाई लाख मध्ये २ सय नेपालीहरू विभिन्न अपराधमा जेलको सजाय भोगिरहेका छन्।

युएईका ८ जेलमा २ सय नेपाली बन्दीको जीवन बिताइरहेका छन्। जसमध्ये विभिन्न मुद्धामा १ सय ८८ पुरुष र १२ महिला समावेश छन्।

जेल पर्ने नेपालीमा मदिरा पिएर झै–झगडा तथा कुटपीट गर्नेको संख्या अधिक छ।

१ सय १६ जना मादक पदार्थ सेवन गरी झगडा गरेको अभियोगमा जेलमा बन्द छन्।

कामकै सिलसिलामा दुब्र्यवहार गरेको अभियोगमा २२ जना जेल परेका छन् ।

चोरीको अभियोगमा २० जना जेल परेका छन् । यस्तै हत्या अभियोगमा १२, फिरौती रकम मागेको अभियोगमा १० जनाले जेल सजाय भोगिरहेका छन्।

अल अथ्वा जेलमा सबैभन्दा बढी नेपाली थुनामा परेका छन् । उक्त जेलमा ९८ नेपालीलाई बन्दी बनाएर राखिएको छ।

यस्तै दुबई सेन्टर जेलमा ६८ जना नेपाली छन् । अलईन जेलमा १०, शारजहा जेलमा १०, अजमान जेलमा ४, रसलखैमा जेलमा ४ र फुजेरा जेलमा १ गरी कूल २ सय जना रहेको दुतावासले जनाएको छ ।

‘धेरैको मुद्धा अदालतमा चलेको थियो। केहीलाई फैसला समेत सुनाइसकिएको छ,’ युएईस्थित नेपाली राजदुत कृष्णप्रसाद ढकालले ब्रेक एन लिंक्स (बीएल) लाई जानकारी दिए।

उनी मदिराजन्य मुद्धा बढी भएको बताउँछन्। ‘मदिराका कारण जेल पर्नेको संख्या बिगतभन्दा बढ्दो छ। यो चिन्ताको विषय हो। रोजगारीका लागि परदेशमा यसरी जेल पर्नु राम्रो कुरा पक्कै होइन,’ उनले भने।

नेपाली प्रति युएई सरकार निकै उद्धार मानिन्छ। नेपालीहरुले गरेको काम र नेपालीहरूको इमान्दारीतालाई यहाँको सरकारले स्याबासी दिने गरेको छ। तर केही नेपालीका कारण सबै नेपालीहरू बदनाम हुन थालेका छन्। राजदुत ढकाल भन्छन्, ‘यो समस्या घट्नुको सट्टा बढ्न थालेकोमा हामी चिन्तित छौं। यसका लागि हामीले लेबर क्याम्प गएर जनचेतना फैलाउने काम पनि गरेका थियौं। तर, सोचेजस्तो नतिजा आउन सकेको छैन।’

 

प्रकाशित मिति: : 2019-07-08 16:34:03

प्रतिकृया दिनुहोस्