सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताएका छन् ।
बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारले पनि भारतीय नक्सा स्वीकार्य छैन भनिसकेकाले अब दुई देशबीच सम्वाद हुने बताए । ‘अब कुरा हुन्छ भनेर सरकारले ग्यारेन्टी गरिसक्यो । यो अगाडि बढ्छ,’ उनले भने ।
भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको भन्दै उनले यसबारे सरकार पनि बोलिसकेको बताए ।
लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘यो गलत भएको छ, यसबारे पुनर्विचार गरिनुपर्छ’ भनेको स्मरण गर्दै उनले भने, अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’
नेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एक ठाउँमा उभिने भन्दै उनले भने, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’