भारतले नेपाली भूमि मिचिएको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा

बिएल

विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेकोमा गम्भीर आपत्ति जनाएको छ।

पार्टी महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकसाता लामो संघर्षका कार्यक्रमसमेत घोषणा गरेका छन्।

‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ,’विज्ञप्तिमा भनिएको छ।
संघर्षका कार्यक्रममा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ।

विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।

महासचिव विप्लवले भारतलाई तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गर्न चेतावनीसमेत दिएका छन्। ‘अन्यथा पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा छ, ‘यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ।’

विज्ञप्तिको पूर्णपाठ…

प्रकाशित मिति: : 2019-11-06 15:19:28

प्रतिकृया दिनुहोस्