युएईकी एक रानी दुई सन्तान र ३१ मिलियन पाउन्ड लिएर बेपत्ता !

रानी हाया बिन्त- ३१ मिलियन पाउन्ड लिएर बेपत्ता भएको बताइएको छ । तस्बिर : एजेन्सी

संयुक्त अरब इमिरेट्सकी एक शासककी रानी ३१ मिलियन पाउन्ड लिएर बेपत्ता भएकी छिन् । 

रानी हाया बिन्त संयुक्त अरब इमिरेट्सको उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौ पत्नी हुन् ।  उनी जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी समेत हुन् । 

बेपत्ता हुने रानी ह्या बिन्त अल हुसैनले आफ्ना दुई सन्तान १ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायदलाई पनि साथै लगेको बताइएको छ । 

बेपत्ता रानी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ । उनले त्यहाँ राजनीतिक शरण मागेको समेत बताइएको छ । तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

उता, केही अरब मिडियाहरूले भने शेखसँग सम्बन्धविच्छेद भएपछि उनलाई देशनिकाला गरिएको बताएका छन् । 

रानीलाई जर्मन जानका लागि दुबइमा रहेका एक जर्मन कूटनीतिज्ञले सघाएको आरोप लगाइएको छ । तर, यो आरोपलाई जर्मनले सिधै अस्वीकार गरेको छ । 

अर्को एक समाचार स्रोतअनुसार रानीलाई फिर्ता गर्नका लागि युएईले गरेको अनुरोध पनि जर्मनले ठाडै अस्विकार गरेको छ । 

यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो ।उनले आफ्नो पिताको अन्याय र अत्याचार खप्न नसकेर भाग्नुपरेको बयान दिएकी थिइन् ।

 

छोरीको यस्तो काण्ड शान्त नहुँदै एउटी रानीले देश त्याग्नुलाई युएईमा सामान्यरूपमा लिइएको छैन ।

 

प्रकाशित मिति: : 2019-07-01 07:47:21

प्रतिकृया दिनुहोस्