भारतले जम्मू–काश्मीर सीमा नजिकै पाकिस्तानसँगको सम्भावित युद्धलाई ध्यानमा राखेर १ हजार २ सय बंकर बनाएको छ।
भारतीय सरकारले यस क्षेत्रमा ३ हजार १ सय ३१ बंकर बनाउने लक्ष्य राखेको थियो, जसअन्तर्गत १ हजार १ सय ३१ बंकरको ढाँचा बनिसकेको र अन्य पनि छिट्टै निर्माण हुने बताइएको छ।
राजौरी जिल्लाका विकाश विभागका अधिकारी अजिज असदले भने–‘हामीले १ हजार २ सय बंकर बनाइसकेका छौं। १ हजारको निर्माण अन्तिम चरणमा छ। सीमा क्षेत्रमा ३ हजार १ सय ३१ बंकर बनाउने अभियानमा हामी जुटेका छौं। निर्माण कार्य पुरा भएपछि बंकर नागरिकलाई उपलब्ध गराउछौं।’
बंकर निर्माणमा सक्रिय इन्जिनियरले पाकिस्तानबाट हुने गोलीको घटनाबाट उन्मुक्ति पाउन यो अभियान प्रभावशाली हुने बताएका छन्। बंकरको देवाल र छत सामान्य घरभन्दा तीन गुणा मोटो हुने गरेको छ। एउटा बंकर बनाउन १३–१४ लाख रुपैयाँ खर्च हुने बताइएको छ।
भारतीय सेनाले पनि पाकिस्तान र चीनको सीमामा गोली–बारुद्ध र अन्य हतियार राख्न चार वटा सुरुङ निर्माण गरिएको छ। यसका लागि सेनाले नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन लिमिटेडसँग करार सम्झौंता गरेको बताइएको छ। करिब दुई वर्षमा बन्ने सुरुङको कूल लागत १५ करोड बताइएको छ। यसमा ८ सय म्याट्रिक टन गोली–बारुद्ध राख्न सकिन्छ।