टोरन्टोमा फहरायो नेपाली चन्द्र-सूर्यअंकित झण्डा

तस्बिरः बीएल

आप्रवासीको बाक्लो जमघट र ओहोरदोहोर हुने टोरन्टोस्थित डाउनटाउनमा बुद्ध जयन्तीको अवसर पारेर नेपाली समुदायको र्याली निकालिएको छ।विगत बर्षहरु जस्तै ‘क्यानडामा नेपाल प्रवर्द्धन गर्ने’ उद्देश्यले क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोको केन्द्रविन्दुमा आइतवार नेपाली समुदायको र्याली निस्किएको हो। 

२५६३ औं बुद्ध जयन्ती अवसर पारेर कर्न्सन नेपाल, क्यानडाको अगुवाईमा टोरन्टोस्थित डाउनटाउन (योङ एण्ड डन्डास) बाट नेपाली समुदायको र्याली निकालिएको हो।



कर्न्सन नेपाल, क्यानडाका संयोजक तुलसी धरेलका अनुसार, र्यालीमा चन्द्र-सूर्यअंकित राष्ट्रिय झण्डा फहराई उल्लेख्य संख्यामा नेपालीहरु सहभागी भएका छन्।नेपालीको र्यालीमा कतिपय कोरियन, फिलिपिनो, जापनिज, श्रीलंकन र बर्मेली मूलका नागरिकसमेत सहभागी थिए। 

‘क्यानडामा नेपाल चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले विगत बर्षहरु जस्तै यसपल्ट पनि बुद्ध जयन्ती अवसरमा र्याली निकालिएको हो’ टोरन्टोस्थित सेन्टेनियल कलेजमा प्राध्यापनसमेत गर्दै आएका संयोजक धरेलले भने, ‘र्यालीमा नेपाली संस्थाका प्रतिनिधि र क्यानडा बस्ने नेपालीहरुको लोभलाग्दो सहभागिता रह्यो।’ 

कर्न्सन नेपाल, क्यानडाले सन् २००८ देखि बुद्ध जयन्ती अवसर पारेर टोरन्टोमा यस्तो र्याली निकाल्न थालेको हो।यसपल्ट पनि डाउनटाउनबाटै र्याली निकालिएको थियो।र्यालीमा सहभागी नेपालीहरु करिव साढे तीन किलोमिटर हिँडेर नाथन फिलिप स्क्वायरस्थित सिटी हल पुगेका थिए।  



‘यहाँ छरिएर रहेका नेपालीलाई एकै ठाउँ उपश्थित गराउने र उनीहरुमार्फत क्यानडामा नेपाल प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले हरेक बुद्ध जयन्तीमा यसरी र्याली निकालिँदै आएको छ’ कार्यक्रमको महत्वबारे संयोजक धरेलले थपे, ‘टोरन्टोको सडकमा नेपालीहरु र्यालीमा हिँडिरहँदा यसपल्ट पनि नियाल्नेहरु धेरै भए।’ 

संसारका सबैजसो राष्ट्रबाट आएका मानिसहरुको बसोबास रहेकाले टोरन्टोलाई बहुसाँस्कृतिक शहरका रुपमा चिनिन्छ।डाउनटाउनमा हुने जमघट र ओहोरदोहोरमा भिन्न भिन्न लवज र भेषभुषा देखिन्छ।क्यानडामा नेपालीको संख्या ४० देखि ५० हजार हाराहारी रहेको अटोवास्थित नेपाली राजदूतावासले जनाउँदै आएको छ। 

बुद्ध जयन्तीसम अवसरमा क्यानडा बस्ने नेपालीमूलका मानिसलाई सहभागी गराई कर्न्सन नेपाल, क्यानडाले गर्न लागेको र्यालीलाई क्यानेडियन प्रधानमन्त्री जष्टिन ट्रुडो, टोरन्टोका मेयर जोन टोरी र अन्टारियो प्रोभिन्सका प्रिमियर डग फोर्डले लिखित शुभकामना सन्देश पठाएका थिए।र्यालीमा क्यानडाका लागि नेपाली कार्यवाहक राजदूत प्रकाश अधिकारी, एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेसहितको उपस्थिति थियो।

प्रकाशित मिति: : 2019-05-20 06:19:36

प्रतिकृया दिनुहोस्