टोरन्टोको आकाशमा नेपालीको आवाज

अनिल थापा अर्थात् ‘टोरन्टोको आकाशमा नेपालीको आवाज' । तस्विर: बीएल

उनी जन्मेहुर्के– खल्खली पसिना छुट्ने गर्मी शहरमा।र, कर्मथलो रोजे– शरीर लुगलुग कमाउने चिसो शहरमा।
 
सानो–ठूलो फरक कुरा, शहर त दुबै शहरै हुन्।तर, पृथ्वीको ठीक विपरीत ध्रुबमा।यता दिन उता रात।उता दिन यता रात।मौसम पनि ठ्याक्कै विपरीत।

उता खप्नै मुस्किल तातो, यता सहनै मुस्किल जाडो। यत्तिका अन्तर हुँदाहुँदै पनि दुई शहरबीच एउटा समानता छ– त्यहाँबाट हिमाल देखिँदैनन्।

तर, दैनिक पत्रिका ‘दी टोरन्टो स्टार’ले केही बर्षअघि उनीबारे आधा पेज फिचर गर्दै शीर्षक राख्यो, ‘अ भोइस फ्रम दि माउन्टेन। ’
 
क्यानडाको चल्तीको पत्रिकाले अनिल थापाबारे फिचर प्रकाशन गर्दा पक्कै गल्ती गरेन।किनकि, उनी हिमालै हिमाल भएको मुलुक नेपालका छोरा त हुँदै हुन्,नेपालमै एक हजार घण्टा हेलिकप्टर उडाएर आकाशबाटै अनगिन्ति हिमाल नियाल्ने पूर्वपाइलट पनि।
 
बीरगञ्जमा जन्मे-हुर्केर नेपाली आकाशमा सयौं फन्को मारिसकेका अनिलका लागि पक्कै सान्दर्भिक थियो त्यो शीर्षक, जसले कर्मथलो टोरन्टोमा रेडियो प्रस्तोताका रुपमा झण्डै डेढ दशकदेखि नेपाली आवाज आकाशमा गुञ्जाइरहेका छन्।
 
४७ बर्षअघि बीरगञ्जको श्रीपुरमा जन्मेर त्यहींको त्रिजुद्ध माविबाट एसएलसी र ठाकुरराम बहुमुखी क्याम्पसबाट बीकम गरेका अनिल ‘नमस्ते रेडियो’का संस्थापक तथा सञ्चालक दुबै हुन्।
 
बीरगञ्जबाट बीकम सकेपछि अनिलले युक्रेनमा पाइलट तालिम लिएका थिए। सन् १९९५ मा तालिम सकिएपछि नेपाल फर्किए। त्यसपछि झण्डै ५ बर्ष गोर्खा र मनाङसहित केही एअरलाइन्समा आवद्ध भएर हेलिकप्टर उडाए।
 
‘बीरगञ्जमा जन्मे-हुर्के पनि हेलिकप्टर उडान थालेपछि नेपालका हिमाल र पहाड दिनदिनै देख्न पाइयो’ अनिलले पुराना दिन सम्झिए, ‘प्रायः पर्यटक उद्दार गर्नुपर्थ्यो, हिमाल र पहाडकामाथि माथि उड्दाको अनुभवै छुट्टै। ’
 
नेपाली आकाशमा एक हजार घण्टा हेलिकप्टर उडाएको अनुभव बटुलेपछि उनी ‘क्याप्टेन’ तालिम लिन अमेरिका आए। त्यो नेपालमा जेठ १९ घटना अर्थात् राजदरबार हत्याकाण्ड भएको समयको कुरा थियो।
 
टेक्ससमा तालिम चलिरहेको थियो। अमेरिकी आकाशमा उड्ने अभ्यास पनि चल्दैथ्यो। एउटा अमेरिकी एअरलाइन्ससँग जागिरको कुरा हुँदैथ्यो।
 
‘त्यत्तिकैमा अमेरिकामा सेप्टेम्बर ११ को आतंकवादी हमला भइदियो, जसले सबै क्षेत्रमा डामाडोल छायो’ अनिलले ती अनपेक्षित दिन सम्झिए, ‘हमलापछि विदेशी पाइलटलाई काम दिन कडाइ गरे, नत्र अमेरिकामै पाइलट भएर विमान उडाइरहेको हुन्थें। ’

सेप्टेम्बर११ को त्यो सबथोक बिथोल्ने हमलापछि अनिल चार बर्ष अमेरिकामै अड्किए।परिवार साथमै थियो। तत्काल नेपाल फर्कन मन लागेन।राजदरबार हत्याकाण्ड र अस्थिर राजनीतिले नेपालको अवस्था राम्रो थिएन।
 
‘त्यत्तिकैमा सन् २००५ मा यता आइयो र टोरन्टो बस्ने टुंगो गरियो’ अमेरिकाबाट क्यानडा सर्दाका दिनबारे अनिलले भने, ‘त्यसबेला पाइलट हुने ईच्छा थाती राखेर क्यानडाबाटै नेपाल र नेपालीको हितमा केही गर्ने सोचियो।’
 
राजनीति र समाजसेवामा चिनिएको परिवारमा जन्मेकाले पनि अनिलमा त्यो ‘नेपाली समुदायका हितमा काम गर्ने’ सोच पलाएको हुनसक्छ। किनकि, बीरगञ्मा उनका बुवा रामबहादुर र आमा मिनुकुमारीको पहिचान ‘सामाजिक क्षेत्रमा अगुवा’ थियो।
 
त्यही परिवारका तीन छोरामध्ये माइलाका रुपमा जन्मिएका अनिल क्यानडा सर्दासर्दै यहाँ नेपालीको अवस्था देखेर भित्रैदेखि दुःखी भए।एक त क्यानडामा नेपाली समुदायको संख्यानै कम, १० हजार हाराहारी।त्यसमाथि ‘नेपाली हुँ’ अर्थात् ‘नेपालबाट आएको’ भन्दा प्रायःले नचिन्ने।
 
‘नेपाल र नेपालीलाई नचिन्ने मात्र कहाँ होर, सिधै इण्डियामा पर्छ होइन त्यो ठाउँ भनेर आफ्नो देशलाई अर्कैको भनिदिने’ क्यानडाका सुरुवाती दिनबारे अनिलले सुनाए, ‘दक्षिण एसियाकै अरु देशबाट आएर ठूलो संख्यामा यहाँ बसेकाले पनि नेपाल र नेपालीलाई चिन्थेनन्, क्यानडाकै धेरैजसो रैथाने र अरुले चिन्नु त झन् परको कुरा। ’
 
नेपालीहरु खासै संगठित नभएको त्यो समयमा अनिलले अरुसँग मिलेर नेपालीलाई एक-आपसमा जोड्ने उद्देश्यले नेपाली फिल्म प्रदर्शनसँगै सांगीतिक प्रस्तुतिहरु आयोजना गर्न थाले।त्यो पनि अपेक्षा गरेजस्तो प्रभावकारी देखिएन।  
 
दिन, हप्ता र महिनाहरु यस्तै ‘चिनारीबिहीन’ अवस्थामा बित्न थालेपछि अनिलले निर्णय गरे, आफ्नै लगानीमा नेपाली रेडियो खोल्ने। र, सन् २००५ अगस्टमा स्थापना भयो– ‘नमस्ते रेडियो, टोरन्टो। ’
 
जुन १०१ दशमलब ३ मेगाहर्जमा प्रशारण हुने ‘क्यानेडियन मल्टिकल्चरल रेडियो’मार्फत् अहिले हरेक शनिवार बिहान साढे ७ देखि ८ बजेसम्म प्रशारण हुन्छ। नेपाली समुदायको आवाजका रुपमा विकास गर्ने गरी अनिलले खोलेको यो रेडियो उत्तर अमेरिकामै पहिलो नेपाली रेडियोका रुपमा परिचित छ।
 
‘सुरुमा आइतबार बिहान ९देखि १० बजेसम्म चल्थ्यो, अहिले चाहिँ शनिवार बिहान साढे ७ देखि ८ बजेसम्म’ नेपाली समुदायमा समर्पित आफ्नो रेडियोबारे अनिलले भने, ‘यसलाई सुरुबाटै नाफामुलक भन्दा पनि सेवामुलक संस्थाका रुपमा चलाएको छु। ’
 
सामाजिक सञ्जालको प्रभाव बढ्नुअघि टोरन्टोमा ‘नमस्ते रेडियो’को प्रभाव गज्जब भएको सम्झिन्छन् अनिल। सन् २००९ सम्म बहुसंख्यक नेपालीले सुन्ने उल्लेख गर्दै त्यसयता प्रशारण समय फेरिएको र इन्टरनेटले प्रभाव पारेका कारण स्रोता घटेको हुनसक्ने ठान्छन्।
 
मासिक झण्डै आठ सय डलर खर्च भइरहे पनि ‘नमस्ते रेडियो’लाई व्यवसायिक बनाउन मरिहत्ते नगरेको उनी बताउँछन्। बरु, निजी खर्चमै चलेको रेडियो भए पनि नेपालीमूलका धेरैजनाले स्वयंसेवीका रुपमा सहयोग गर्दा नियमितरुपमा स्रोतासमक्ष आवाज पुर्याउन पाइरहेको स्वीकार्छन्।


 
रेडियोलाई विभिन्न समयमा आशा रजक, जयराम गौतम, आस्था तामाङ, प्रद्युम्न रेग्मी, चन्दा श्रेष्ठ, मनोज पोखरेल, सुजन मास्के, अनुराधा उप्रेती, दिनेश मल्लआदिले कार्यक्रम सञ्चालनमा निःशुल्क सहयोग पुर्याएका छन्।जो कार्यक्रम चलाउनैलाई कामबाट छुट्टी मिलाएर, टाढाबाट धाएर र सप्ताहान्तको समय छोट्याएर स्टुडियो पुग्थे।
 
‘टोरन्टोको आकाशमा नेपालीको आवाज’ सिग्नेचर ट्युन छ ‘नमस्ते रेडियो’को। आजकल यसलाई प्रशारण अवधिमा ‘फेसबुक लाइभ’समेत गरिन्छ।टोरन्टो क्षेत्रमा छरिएका नेपालीलाई संगठित गर्न सक्दो योगदान पुर्याएको उल्लेख गर्दै अनिल भन्छन्, ‘केही ऐतिहासिक क्षण पनि छन् र महत्वपूर्ण पात्रहरुसँग गरिएका कुराकानी पनि, जो सम्झनामा आइरहन्छन्। ’
 
एनआरएनए क्यानडाको औपचारिक स्थापनाको घोषणा ‘नमस्ते रेडियो’बाटै भएको उल्लेख गर्दै उक्त संस्थाका तेस्रो अध्यक्षसमेत भैसकेका अनिलले मह जोडी, अनुराधा कोइराला, पुबुदु दासानायके, महावीर पुन, सत्य–स्वरुप आचार्य आदिसँग गरेका अर्न्तवार्ता स्मरणयोग्य रहेको बताए।
 
‘टोरन्टोमा नेपालीहरुको मिनी फेस्टिभल चलाउँदा होस् या देउसी-भैलो कार्यक्रम चलाउँदा’ नेपाली समुदायलाई जोड्न आफ्नो रेडियोको भूमिकाबारे अनिल भन्छन्, ‘नाफा-घाटा नभनी रेडियोले एउटा माध्यमका रुपमा भूमिका खेलिरहेको छ। ’
 
पाइलट बन्ने इच्छा छोडेर रेडियो-कर्ममा लागेका अनिल अहिले पनि उड्डयन क्षेत्रबाट पुरै अलग्ग्नि सकेका छैनन्। देश विदेश रहेका पाइलट साथीभाइसँग कुराकानी त हुने नै भयो, क्यानडामै ‘पाइलट ट्रेनिङ स्कुल’ खोल्न पनि उनी इच्छुक छन्।
 
हिमाल नदेखिने शहर टोरन्टोमा बर्षौं बसे पनि ककपिटबाट हिमाल नियाल्दै कुनैबेला आकाशमा उड्ने बानी परेका अनिल त्यो उड्डयन इच्छा पूरा गर्न त्यस्ता ट्रेनिङ स्कुलदेखि विमानका पार्टपुर्जा उत्पादक कम्पनीको भ्रमणसम्म गरिरहेकै छन्।
 
अनिलको त्यो पाइलट स्कुल खोल्ने, फेरि आकाश फन्को मार्ने इच्छा पूरा होला/नहोला, भविष्यले बताउँछ।तर, उनले आफ्नो आवाज भने हरेक शनिवार रेडियोमार्फत् आकाशमै पुर्याइरहेका छन् र पुर्याइरहने छन्, आफ्नै शैलीमा, ‘टोरन्टोको आकाशमा नेपालीको आवाज, सुन्नुहोस् नमस्ते रेडियो, टोरन्टो। ’

प्रकाशित मिति: : 2019-05-16 23:28:10

प्रतिकृया दिनुहोस्