भारतीय हतियारधारी समूह र प्रहरीबीच दोहोरो फायरिङ, तीन प्रहरी घाइते

तस्बिरः एजेन्सी

नेपालको सीमावर्ती नाका शंकरापुरमा भारतीय हतियारधारी समूह र नेपाल प्रहरीबिच दोहोरो फायरिङ भएको छ।

बिहिवार दिउँसो करिव ४ बजेतिर हतियारसहित नेपाल आएका एक युवकलाई प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएपछि आक्रोशित भारतीय हतियारधारीले प्रहरीमाथि फाइर खोलेको थियो।

अटोमेटिक पेस्तोल बोकेर नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिक झीनक धोविलाई सादा पोसाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएपछि धोवि चिच्याएका थिए। त्यसपछि भारतबाट आएका २० जना भन्दा बढीको समूहले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले बताए।

‘धोबिलाई नियन्त्रणमा लिएपछि स्थिति तनावग्रस्त बन्यो। चिच्याएर मानिस बोलाएपछि भारतबाट घरेलु हतियार बोकेर आएका मानिसले आक्रमण गरे,’ थापाले भने।

ड्यूटीमा रहेका प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले जवाफी फायर खोलेको थियो। ‘प्रहरीलाई मार्ने नै अवस्था आएपछि बाध्य भएर फायर खोलेको हो। प्रहरीको जिउभरी लाठी प्रहार गरेका छन्,’ एसपी थापाले भने।

भारतीय हतियारधारी समूहको प्रहारबाट तीन जना प्रहरी जवान घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले धोबीको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद गरेको छ। धोविको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-05-16 23:08:25

प्रतिकृया दिनुहोस्