नौ महिनाअघि हिमतालमा बेपत्ता बराइलीको शव निकालियो

तस्बिरः एजेन्सी

गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा नौ महिना अघि बेपत्ता एक विद्यार्थीको शव भेटिएको छ।

पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव बिहिबार बिहान भेटिएको प्रहरीले जनाएको छ।

बराइलीको शव करिब ३५ फिट गहिराइबाट निकालिएको हो। जसको लागि विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबारबाट खोजी कार्य सुरु गरेको थियो।

खोजकर्ताले परिचालन गरेको रोबर्टले आज बिहान मात्र शव पहिचान गरी बाहिर निकाल्न सफल भएको हो।

गत साउन १८ गते शैक्षिक भ्रमणमा गएका बेला पौडी खेल्ने क्रमममा बराइली साथीको उद्धार गर्न जादा आफैं डुबेर बेपत्ता भएका थिए।

उनी जिउमा लगाएको कपडासहित डुबेका थिए। सोही आधारमा उनको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए

बेपत्तामध्ये १६ वर्षीय पेम्बा नुरू शेर्पाको शव गत साउनको २३ गते सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटेको थियो। १७ वर्षीय पेम्बा दोर्जी शेर्पाको शव खोज्ने कार्य जारी रहेको खोजकर्ताले बताएका छन्।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मकिन, केइथ कर्मकिन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरूषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले बुधबार दिनभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शवको खोजी गरेको थियो।   

चिसो मौसमको कुनै प्रवाह नगरी टोलीको निरन्तर प्रयासपछि उनीहरु डुबेकै ठाउँको आसपासमा शव भेटिएको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए।

खुम्जुङ माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणका शिलशिलामा गोक्यो क्षेत्र लगिएको थियो । सोही क्रममा तालमा पौडी खेल्दै गर्दा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा डुबेका थिए ।

प्रकाशित मिति: : 2019-05-16 22:46:41

प्रतिकृया दिनुहोस्