इरानमा एक महिलालाई ३८ वर्ष जेल र १ सय ४८ कोर्राको सजाय

तस्बिरः एजेन्सी

इरानमा मानवअधिकारकी चर्चित वकिल नसरीन सोतोदहलाई ३८ वर्षको जेल र १ सय ४८ पल्ट कोर्रा प्रहार गर्ने सजाय सरकारले घोषणा गरेको छ।

अमानवीय मानिएको यो सजाय इरान सरकारले घोषणा गरेको जानकारी सर्वप्रथम उनकै श्रीमान रेजा खानदानले फेसबुक वालबाट गराएका छन्। नसरीनलाई जेल सजाय दिनुको कारण राष्ट्रिय सुरक्षामा उनी खतरा भएको र इरानको बरिष्ठ नेतालाई बेइज्जत गरेको बताइएको छ।

इरानको सरकारी अखबारहरूले नसरीनले राष्ट्रिय सुरक्षामा दखल पुग्ने गरी स्थानीय जनतालाई भड्काउने गरेको र बरिष्ठ नेताको सम्मान नगरेको उल्लेख गरेको छन्।

इरानमा महिलाले टाउको पुरै ढाक्नु पर्ने कट्टरतावादी सोचविरूद्ध नसरीनले सार्वजनिक रुपमै विरोध गरिसकेकी छिन्। यसै कारण उनी कट्टरपन्थीहरूको निशानामा थिइन।

रेजाले पोस्ट गरेको फेसबुक वालमा लेखिएको छ, सन् २०१६ मै उनलाई पाँच वर्षको सजाय घोषणा गरिएको थियो।

इमनेस्टी इन्टरनेशनलले नसरीनको कार्यवाहीको कडा शब्दमा भत्र्सना गरेको छ। संस्थाका अनुसार विगत एक दशकमा इरानमा करिब ७ हजार व्यक्तिलाई इरानी सरकारले पक्राउ गरिसकेको छ। यी सबैले मानवअधिकारको मुद्धा उठाएका थिए।

नसरीनलाई गत वर्ष जुनदेखि घरमै नजरबन्द गरिएको थियो। यतिले नपुगेर उनलाई राजधानी तेहरानदेखि बाहिरको जेलमा पठाउने निर्णय गरिएको हो।

नसरीनलाई युरोपेली पार्लियामेन्टको तर्फबाट सखरोव पुरस्कारबाट पुरस्कृत गरिसकिएको छ। उनी २०१० मा जेलमै हुँदा उनलाई पुरस्कृत गरिएको थियो। यतिबेला उनलाई ११ वर्ष जेल सजाय सुनाइएको थियो। यतिबेला उनी २०१३ मा रिहा भएकी थिइन।

प्रकाशित मिति: : 2019-05-14 15:44:08

प्रतिकृया दिनुहोस्