घटनाको दुई सातासम्म पनि मृतकको सनाखत हुन नसकेपछि...

तस्बिरः एजेन्सी

चिसो मौसम थियो। बिहानको करिब २ बज्न लागेको थियो। नियमित गस्तिमा रहेको प्रहरीले पुलमुनी केही चलेको जस्तो देखियो। नजिकै पुगेर हेर्दा एक जना अधवैशे अचेत अवस्थामा थिए। श्वास चलिरहेको थियो।

घटना ताहाचलस्थित टंकेश्वर पुलमुनि गत चैत २४ गते हो।

प्रहरीले तत्काल ती व्यक्तिलाई वीर अस्पताल पुर्‍यायो। त्यसको केही समयमा नजिकै अर्का व्यक्ति फेला परे। उनको अवस्था पनि त्यस्तै नै थियो। टाँउकोमा चोट लागेर रगत बगिरहेको थियो। गस्तिमा रहेको प्रहरी तत्काल उनलाई पनि वीर अस्पताल पुर्‍यायो।

सूर्यको किरणले धर्तिमा टेक्न नपाउँदै उपचार गराइरहेका एक व्यक्तिले भने संसार छोडे। मृत्यु हुनेमा प्रहरीले अन्तिम पटक अस्पताल पुर्‍याएका व्यक्ति थिए।

यस विषयमा प्रहरीले अनुसन्धान सुरू गर्‍यो।

अन्ततः आइतबार बिहान तरकारी बोक्ने भरियाबीच हानाहान हुँदा एकको मृत्यु भएको निष्कर्षमा प्रहरी पुग्यो। ‘दुई पक्षबीच हानाहान हुँदा मृत्यु भएको देखियो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

तर घटना भएको दुई साता बितिसक्दा पनि मृतकको सनाखत हुन सकेको छैन। डिएसपी बोगटीका अनुसार मृतक अन्दाजी ४५ वर्षका देखिए पनि उनको पहिचान खुल्न सकेको छैन।

‘उनीहरु कालिमाटी तरकारी बजारमा दिनभर भरिया भएर तरकारी बोक्ने र राति नजिकैको ताहाचलस्थित टंकेश्वर पुलमुनि बस्दै आएको खुलेको छ,' उनले भने,केहि वर्षदेखि सडकमा नै उनीहरु बस्दै आएका छन्। को हुन्? कहाँका हुन् खुलेको छैन?’

व्यक्तिको सनाखत हुन नसक्दा अनुसन्धान भने अन्योलमा परेको छ। प्रहरीले एक जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। मर्नु भन्दा अगाडि ती व्यक्तिले एक जनाले मलाई इँटाले हानेको बयान दिएका थिए।

उनको बयानको आधारमा नै प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। तर रोचक कुरा के छ भने प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति को हुन् भन्नेसमेत खुल्दैन।

‘उसले हुलिया र यो व्यक्ति भनेको आधारमा नियन्त्रणमा लिएका हौं। तर, उनको पहिचान खुलेको छैन,' बोगटीले भने।

प्रहरीले पक्राउ गरेका व्यक्ति बोल्न तथा राम्रोसँग सुन्न समेत सक्दैनन्। बोल्न नसक्दा अनुसन्धान ढिलमिल भएको हो।

त्यस्तै काठमाडौंको बाफल पुलमुनि करिब ८ बजे अन्दाजी २५/२६ वर्षीय युवकको पेटमा सिसाको बोतलले प्रहार गरेको अवस्थामा शव फेला परेको थियो।

यो घटनामा पनि प्रहरीलाई अनुसन्धान गर्न समस्या भइरहेको छ। दुबै घटनाको प्रकृति एउटै छ।

केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठीक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो। अहिलेसम्म पनि मृतकको सनाखत हुन सकेको छैन।

प्रहरीले यस घटनामा पनि एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यस घटनाका अभियुक्त पनि मानसिक असन्तुलन भएका हुन्। प्रहरीको बयानमा उनले ‘मँसगै थियो आफैं मर्‍यो त म के गर्नू?, मर्न नि नपाउने’ भन्दै आएका छन्।

प्रकाशित मिति: : 2019-04-20 10:01:40

प्रतिकृया दिनुहोस्