बताउने काम सडकको प्लास्टिक टिप्ने, खास काम चाँहि डिस्को र क्लबबाट मातेकालाई रातभर एकान्तमा लुट्ने

तस्बिरः बिएल

समीर श्रेष्ठ (नाम परिवर्तन) लैनचौरमा रहेको डिस्कोबाट निस्किए। नशामा चुर भएका श्रेष्ठ निस्किँदा रातको १ बजिसकेको थियो। होस त परै जाओस्, आफ्नो शरीरसमेत राम्रोसँग समाल्न सक्ने स्थितिमा थिएनन्।

कपुरधाराबाट केही भित्र लागेपछि श्रेष्ठलाई कसैले पिछा गरे जस्तो लाग्यो।पछाडि फर्किन नपाउँदै एक्कासी मुखमा प्रहार भयो। त्यसपछि के भयो?, उनलाई थाहा भएन। होसमा फर्किदा सर्वस्व लुटिसकिएका थिए उनी। गलामा लगाएको सुनको सिक्री मात्र होइन, क्लबबाट बचाएर ल्याएको पैसासमेत खल्तीमा थिएन।

महानगरीय प्रहरी वृत्त लैनचौरमा खबर गरे। प्रहरीले श्रेष्ठको कुरा त सुन्यो।तर, लुटेरा पहिचान गर्न सकेन।खासै चासो पनि दिएन। त्यसपछि लैनचौर वृत्तमा यस्ता घटनाको उजुरी आउने क्रम बढेपछि प्रहरी केही झस्कियो।

कुन समुह हो?, जसले फेरि लुटमा आतंक मच्चायो। एउटै प्रकृतिमा घटना। अनि समय पनि एउटै।

केही समयपछि प्रहरीले इन्द्रचोकबाट तीन जनालाई नियन्त्रणमा लियो।पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला ठाना पकरीदयाल ढाकाग्राम घर भएका २० वर्षीय दीपक जैसवाल, १९ वर्षीय बिजु साह र सितामाडी जिल्लाका २१ वर्षीय राजकुमार राम थिए। घटनाको अनुसन्धान गर्दै जाँदा श्रेष्ठलाई लुट्ने समुह पनि त्यही भएको खुल्यो।

उनीहरूले रातको समयमा मादकपदार्थ सेवन गरी एक्लै हिँड्ने र एकान्तमा भेटिएका मानिसलाई पछाडिबाट रडले प्रहार गरी लुट्ने गरेको महानगरीय प्रहरी वृत्त काठमाडौंका एसपी सिंह बताउँछन्।

उनीहरू भारतबाट लुट्ने तथा चोरी गर्ने योजनाले काठमाडौं आएको देखिन्छ,’ एसपी सिंह भन्छन्, ‘उनीहरूले मदिरा सेवन गरेका मानिसलाई लुट्ने गरेको देखियो। मानिस चाडै मर्ने वा बेहोस हुने स्थानमा हिर्काएर लुट्छन्।’

लुट्नमा परिवारकै सहयोग, लुटेरै छोराछोरी समेत महँगो स्कुलमा

प्रहरीले पक्राउ गरेका तीन भारतीय नागरिकले लुटेर नै काठमाडौंमा ६ जनासम्मको परिवार पालेको देखिएको छ।उनीहरू दिनभर घरमै बस्ने र रातको समयमा लुटेर ल्याएको सामान बेचविचन गरी परिवार पाल्ने गरेको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी गौतम केसी बताउँछन्।

‘केही समयदेखि उनीहरू नेपालमा बस्दै आएका छन्।अरू केही काम देखिदैन लुट्नुबाहेक।तर, परिवार मज्जाले चलाएका छन्,’ डिएसपी केसी भन्छन् ,‘उनीहरूले आफ्ना बालबच्चा महँगो विद्यालयमा पढाएको समेत पाइएको छ।परिवारले समेत लुट्न सहयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।’

लुटेको सामान टेकुस्थित चन्दन पोदारको घरमा राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।उनीहरूको कोठाबाट एक लाख ९८ हजार रूपैयाँ नगद, नौवटा मोबाइल, नौवटा घडी, क्यामरा, मनी ब्यागलगायतका सामान बरामद गरेको हो।

‘लुटिएको सामान सस्तो मुल्यमा व्यापारी वा व्यक्तिलाई बेच्छन्। सस्तोमा पाएपछि जसले नि किन्ने भए। त्यही रकमले गुजारा चलाउँछन्,’ डिएसपी केसी भन्छन्।

बताउने काम प्लास्टिक टिप्ने, तर रातभरि लुट्ने

उनीहरूको चारजनाको समुह भएको प्रहरीको दाबी छ।एकजना फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ।दिनभर मास्क लगाएर, भेष बदलेर, फोहोरी जस्तो देखिएर हिँड्ने र लुट्ने स्थानको रेकी गर्ने गरेको डिएसपी केसी बताउँछन्। ‘आफूलाई प्लास्टिक टिप्ने बताउँछन्। तर, राति भएपछि उनीहरू एकान्त र एक्लो मानिस खोजेर लुट्छन्। खासगरी मदिराले लठ्ठिएको मानिस उनीहरूको टार्गेट हो’, डिएसपी केसी भन्छन्।

उनीहरूले राति १० बजेदेखि बिहान ६ बजेसम्म लुट्ने गरेको अनुसन्धानमा खुलेको छ।

गत चैत १ गते प्रहरीले राजधानीमा गिरोह बनाएर चोरी गर्ने भारतीय समुहलाई नियन्त्रणमा लिएको थियो। भारतीय नागरिक पारसप्रसाद चोरी गिरोहका मुख्य योजनाकार थिए।विगत चार वर्षदेखि उनी नेपालमा रहेर चोरी गर्दै आएको खुलेको थियो।

चोरीमा प्रयोग भएको बा १ ज ११९२ नम्बरको ट्याक्सी, बा १४ च ७२६९ नम्बरको मारुनी भ्यान र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरूको नै भएको खुलेको छ।

प्रकाशित मिति: : 2019-04-17 15:49:41

प्रतिकृया दिनुहोस्