नेपालमा गणतन्त्र ल्याउँन रगत बगाएका एक योद्धाको पोर्चुगलको राजधानीमा रक्तक्यान्सरबाट निधन भएको छ। श्वास जानुअघि उनले सहकर्मीलाई भने- 'सर, मेरो पर्समा छोराको फोटो छ।दिनुस् न।' फोटो हेरेर आँसु झारे अनि यो संसारलाई अलविदा भने। यसैले त भनिएको रहेछ- कहाँको जन्म, कहाँको मरण ।
विगत दुई वर्षदेखि पोर्चुगलमा कार्यरत भुजेल काम गर्ने क्रममा पोहोर साल एक्कासी ढलेपछि रगत जाँच गर्ने क्रममा रगतमा क्यान्सर भएको भेटिएको थियो।लिस्बनको सरकारी अस्पतालमा उनको उपचार भैरहेको थियो। पहिलो चरणको उपचार सकिएर बिसेक भएपछि उनी केही महिनाअघि नेपाल पुगेर परिवारसँग भेटघाट गरेर फर्किएका थिए।
रिँगटा बढी लाग्ने र पेटको समस्या देखिएपछि उनी फेब्रुअरी ९ मा फेरि अस्पताल भर्ना भएका थिए।डाक्टरहरु रगत शुद्ध गर्ने नयाँ उपचार शुरु गर्ने तयारी गर्दै थिए।अचानक उनले बढी नै असहज महसुस गरे।
बिप्लव माओवादी निकट भुजेलका साथी प्रदीप अधिकारीलाई बित्नु अघि उनले भने, ''सर मेरो पर्समा छोराको फोटो छ।दिनुस् न।'' प्रदीपले फोटो दिए। मनिषले फोटो हेरेर आँसु झार्दै थिए त्यतिकैमा सदाका लागि अस्ताए।सँगै उभिएका उनका दाजु नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल भक्कानिए।दिनभरी श्रम गरेर बिरामी भेट्न गएका साथीहरु पनि रोए ।
एनआरएन अध्यक्षलाई सभाको चिन्ता
भुजेल बित्ने दिन लिस्बनमा नेपाल मेलाको चहलपहल चलिरहेको थियो।नेपाली सँस्कृति पहिचान गराउने उद्देश्यले एनआरएनले यो कार्यक्रमको आयोजना गरेको थियो।अस्पतालमा भेट्न पुगेका एनआरएनका अध्यक्ष कुबेर कार्कीले तुरुन्तै श्रद्धान्जलिसभा गर्नुपर्ने राय व्यक्त गरे। गत हप्ता मात्रै निधन भएका विदुर रेग्मीको शव एनआरएनको पहलमा नेपाल पठाइएको थियो।
भुजेलको शव नेपाल पठाउन दाजु विष्णु भुजेलको अगुवाइमा काम भैरहेकोछ। जनप्रगतिशील मोर्चा पोर्चुगल समितिले आवश्यक सबै सहयोग गरिरहेको अध्यक्ष पूर्ण विकले बताए। मोर्चाका पूर्वअध्यक्ष इन्द्र न्यौपानेले भने ''नेपाल पठाउने सबै कुरो छिनोफानो नभई श्रद्धान्जलिसभा गर्ने कुरा महत्वपूर्ण होइन, आवश्यक परे मोर्चाले नै गर्नेछ।''
अस्पतालमा दिनभर घर बनाउने रड बटार्ने काम सकेर साथी भेट्न पुगेका पाल्पा चिदीपानीका शुकबहादुर नेपालीले भने, ''बिरामी भएर दुई दुई वर्षसम्म अस्पताल थलिँदा एनआरएनको कोही आएन।सबैले भाषण गरे । कति नेपाली अस्पतालमा छन् ? उनीहरुलाई केही समस्या छ कि भनेर एनआरएनले कहिल्यै चिन्ता लिएन । अहिले यिनलाई सभा गर्ने हतारो ?''
बिरामीलाई लगेको एक झोला स्याउ र सुन्तला आँखाभरी आँसु पारेर नजिकैको डष्टबिनमा फाल्दै शुकबहादुरले भने, 'यसरी अर्काको भूमिमा त्यो पनि देशको निम्ति लडेको योद्धाको मरण कहिलेसम्म हुनेहोला ?''