कर्णालीले साउनदेखि बनाउँदै छ- स्वास्थ्य बीमाको सुविधा दोब्बर

तस्बिरः बिएल

आगामी साउनदेखि राष्ट्रिय स्वास्थ्य बीमाको सुविधा रकम दोब्बर हुने भएको छ।अहिले अतिविपन्न तथा आर्थिक अभावका कारण उपचार नपाई ज्यान गुमाउनुपर्ने बाध्यताका आमजनताका लागि सरकारले बढीमा ५० हजारसम्मको उपचार सुविधा उपलव्ध गराइएको छ। साउनदेखि यो सीमा बढेर एकलाख पुग्न लागेको हो ।

बीमा बोर्ड कर्णाली प्रदेशका संयोजक अर्जुन पण्डित भन्छन्- 'नयाँ नियमावलीअनुसार अब न्युनतम एकलाख रुपैयाँसम्मको उपचार सेवा प्रदान गरिन्न्छ।तर, सुविधा रकमसँगै बीमितले तिर्नुपर्ने प्रिमियम रकम पनि बढेको छ।

उनका अनुसार विगतमा पाँच सदस्यको परिवारले दुई हजार पाँचसय र थप सदस्यको प्रतिसदस्य चारसय ५० तिर्दै आएकोमा अब त्यो बढेर क्रमश: तीन हजार पाँचसय र सातसय भएको छ। पहिले थप सदस्यको हकमा १० हजारको दरले सुविधा पाउनेमा अब त्यो पनि बढाएर २० हजार पुर्याइएको छ।

७० वर्षमाथिका जेष्ठ नागरिक, अति विपन्न परिवार, अपांगताको रातो कार्ड भएका, लेप्रोसी, एचआइभी, एमडीआरटीबीलगायतका रोगको संक्रमण भएकालाई स्वास्थ्य बीमा कार्यक्रमा निःशुल्क आवद्ध गराइनेछ ।७० वर्ष उमेर पुगेका नागरिकको हकमा थप एकलाख सम्मको उपचार सुविधा तोकिएको छ। साउनदेखि नै आठ प्रकारका जटिल रोगहरुको उपचारका लागि बीमित सदस्यलाइ पुनः नदोहोरिने गरी पहिलेको उपचारमा थप एकलाखसम्मको स्वास्थ्य सुविधा प्रदान गरिनेछ ।

कार्यक्रम लागु भएको तीन वर्षसम्म पनि अपेक्षित प्रतिफल निस्कन नसकेको भन्दै बीमा बोर्डले प्रदेश सरकार र स्थानीय सरकारलाई पनि प्रत्यक्ष संलग्न गराउन प्रदेश बीमा संयोजन समिति र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठनको व्यवस्था गरिएको छ।

'स्वास्थ्य बीमामा आवद्ध नागरिकलाई सेवा प्रदायकले फरक व्यवहार गर्ने गरेको गुनासो बढेको छ', प्रदेश स्वास्थ्य निर्देशनालयकी स्वास्थ्य निर्देशक रबिना भण्डारी भन्छिन्।उनका अनुसार बीमितलाई उपचारमा सहज नभएको पाइएकोले बीमा बोर्ड र प्रदेश सरकारले नियमन गर्नु आवश्यक छ।

 कर्णालीका पाँच जिल्लामा लागु भएको स्वास्थ्य बीमा कार्यक्रममा तीन वर्षको अवधिमा २९ हजार चारसय ६६ परिवारका जम्मा एकलाख ४२ हजार तीनसय ९ जना आवद्ध भएका छन्। सबैभन्दा बढी जुम्लामा २६ प्रतिशत र सुर्खेतमा सबैभन्दा कम आठ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले बीमितलाइ स्वास्थ्य सुविधा राम्रो दिएका कारण जुम्लामा दर्ता हुने र नविकरण हुनेहरुको संख्या अधिक रहेको छ ।

 कर्णालीका सुर्खेत, जुम्ला, कालिकोट, रुकुम पश्चिम र जाजरकोटमा पूर्ण रुपमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ भने हुम्ला, मुगु र डोल्पामा यही जेठ १५ भित्र लागु गराइने बीमा बोर्डका प्रदेश संयोजक पण्डित बताउँछन्।

प्रकाशित मिति: : 2019-04-09 23:19:14

प्रतिकृया दिनुहोस्