न्युजिल्यान्डको क्राइस्टचर्चमा मस्जिद गोलीकाण्ड: कम्तिमा ४९ को मृत्यु, दर्जनौ घाइते

तस्बिरः एपी

न्युजिल्यान्डको क्राइस्टचर्चका दुई ठूला मस्जिदमा शुक्रबार भएको गोलीकाण्डमा परी कम्तिमा ४९ जनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन्। घाइतेमध्ये कम्तिमा पनि २० जनाको हालत गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु र घाइते हुनेमा अधिकांश मुस्लिम समुदायका मानिस छन्। 

अत्याधुनिक हतियारसहित आएका बन्दुकधारीले शुक्रबारको प्रार्थना गर्न भेला भएका मुस्लिममाथि अन्धाधुन्द गोली चलाएका थिए।

बंगलादेशका क्रिकेट खेलाडीसमेत प्रार्थनाको लागि जादै गरेको समयमा उक्त हमला भएको थियो। तर, खेलाडीहरू पुग्नुअघि नै आक्रमण भएकाले उनीहरू सकुशल रहेको जनाइएको छ।

आक्रमणकै कारण आज हुने भनिएको न्युजिल्याण्ड र बंगलादेशबिचको खेल पनि रद्द भएको छ। बंगलादेशी खेलाडीहरू म्याच छोडेर स्वदेश फर्कने तयारीमा छन्।

यसैबीच न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमलाको संज्ञा दिँदै निन्दा गरेकी छन्। उनले मारिएकाहरूको संख्या पुष्टि गर्दै आजको दिनलाई आफ्नो देशले 'कालो दिन'को रूपमा लिएको बताएकी छन्। घटनासँग सम्बन्धित  रहेको आशंकामा महिलासहित चारजनालाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिएकी छन्।

'क्राइस्टचर्च यी पीडितहरूको घर थियो। यीमध्ये धेरै त सायद यहीँ जन्मेका थिए। धेरैका लागि न्युजिल्याण्ड उनीहरूको मनपर्ने देश थियो। आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये एक हो।'

घटनापछि शहरका बिभिन्न भागमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।आम सर्वसाधारणलाई बाहिर नजान आग्रह गरिएको छ।सबै मस्जिदहरुमासुरक्षा कड़ा पारिएको छ भने मुस्लिम समुदायलाई धैर्य गर्नआग्रह गरिएको छ।

प्रहरीले यो हमला सुनियोजित भएको भन्दै आजका दिन मस्जिद नजान अपिल गरेको छ।

त्यस्तै डबलिन र क्राइस्टचर्च बीचका सबै उडान रद्द गरिएको डबलिन विमानस्थलले जनाएको छ।

पक्राउ परेका मध्ये एक जना अस्ट्रेलियाका २८ वर्षीय नागरिक ब्रेनटन टयार्नटनभएको जनाइएको छ। यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसले यो हमलाकारीहरूलाई 'अति दक्षिणपन्थी आतंकवादी' भनेका छन्।

यस घटनाको बिभिन्न समुदाय र ब्यक्तिहरुले दुःख ब्यक्त गरेका छन्।

क्राइस्टचर्च न्यूजीलैंडको दोस्रो ठूलो शहर हो। यहाँ नेपालीको पनि बाक्लो उपस्थिति हुने गरेको छ।

प्रकाशित मिति: : 2019-03-15 14:27:43

प्रतिकृया दिनुहोस्