कसरी डिभोर्स भयो संसारकै धनी जेफको ?

AP

एमजोनका मालिक तथा संसारकै सर्वाधिक धनीको रुपमा उदाउँदै गरेका जेफ बेजोस दम्पत्तिले यही जनवरी ९ मा आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएको घोषणा गरे ।

जुन कुराको असर जेफको व्यक्तित्व मात्रै नभएर एमजोनको व्यवसाय र यसका शेयरहोल्डरमाथि पनि पर्छ कि भन्ने कोणबाट अहिले बहस हुन थालेको छ । अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार एक खर्ब ३७ अर्ब अमेरिकी डलरको व्यवसायमा अब जेफकी पत्नी मक्केन्जी सबैभन्दा बढी शेयर होल्डरको रुपमा रहने छिन् ।

डिभोर्सको कारण के थियो ?

उनीहरुले राजीखुसीबाटै आफूहरु अलग भएको दावी गरे पनि डिभोर्सबारे पूर्वतयारी भने थिएन । मक्केन्जीले अचानक र अनपेक्षित रुपमा जेफसँग डिभोर्स मागेकी हुन् । फक्स न्युजले जनाए अनुसार उनीहरुबीच डिभोर्सबारे पूर्व सम्झौता नै भएको थिएन । यसलाई लिएर मक्केन्जी रुष्ट भएरै डिभाेर्स दिएकी हुन् भन्ने टिप्पणी आएका छन् ।

जेफकी प्रेमिका

पिपुल म्यागेजिनले उल्लेख गरेअनुसार जेफ करिब ८ महिना भन्दा पहिलेदेखि एक महिला, लउरेन सान्चेजसँग नजिक रहँदै आएका थिए । लउरेन एक चर्चित टेलिभिजन होस्ट हुन् । सेलिब्रिटीसँगै व्यवसायमा समेत सफल लउरेन जेफको डिभोर्सको एक कारण हुनसक्ने केही तथ्य मिडियाले पेश गरेका छन् ।

को हुन् लउरेन ?

विवाहित महिला लउरेनसँग जेफको केही वर्षअघि नै चिनजान थियो । उनीहरु पारिवारिक रुपमै केही पार्टीमा समेत संलग्न थिए । ‘एक्स्ट्रा’ र ‘गुड डे ला’ को लागि होस्टको रुपमा काम गरिसकेकी लउरेन चर्चित रियालिटी शो ‘सो यू थिंक यू क्यान डान्स’को प्रारम्भिक समयको होस्ट समेत हुन् ।

दोस्रो सन्तान जन्माउने अवधिमा टिभी शोबाट बिदा भएकी लउरेन सन् २०१६ मा आफैँ व्यवसाय गरिन् । बिमान कम्पनीमा लगानी गरेकी उनी सफल व्यवसायी पनि हुन् ।

त्यसो त, लउरेनका श्रीमान प्याट्रिक ह्वीसेल आफैँ स्थापित धनाढ्य व्यवसायी हुन् । सन् २००५ मा प्याट्रिकसँग विवाह गरेकी लउरेन दुई सन्तानकी आमा पनि हुन् ।

उनै लउरेन केही महिनायता जेफसँग निरन्तर भेटघाटमा थिइन् । केही मिडियाले त जेफले केही महिनायता धेरैजसो समय उनै लउरेनसँग बिताएको उल्लेख गरेका छन् ।

यता जेफको डिभोर्स हुने क्रममै लउरेन र प्याट्रिकले पनि आफ्नो १३ वर्षे वैवाहिक सम्न्ध टुंग्याउँदै छन् । यस क्रममा प्याट्रिकले नै लउरेनलाई डिभोर्स दिएका हुन् । यी प्रसंगका आधारमा लउरेन नै जेफको डिभोर्सको कारण त हैनन् भन्ने गस्सिप नै बनेको छ ।

प्रकाशित मिति: : 2019-02-03 02:32:51

प्रतिकृया दिनुहोस्