दिल्लीमा किसानका लागि नयाँ योजना, आम्दानी तीन गुणाले बढ्ने

Agency

दिल्ली सरकारले खेतमा सोलार प्यानल जडान गरेर बिजुली उत्पादन गर्ने अभियानलाई तीब्रता दिएको छ। आउँदो फेब्रुअरीदेखि मार्चसम्म दिल्लीको खेतहरूमा बिजुली उत्पादन सुरु हुनेछ। दक्षिण–पश्चिमदेखि उत्तर–पश्चिम दिल्लीको विभिन्न जिल्लामा योजनाको कार्यान्वयन तीब्र रूपमा भइरहेको छ।

दिल्लीका किसानहरूले खेतमा जडान गरिने सोलार प्यानलबाट उत्पादन हुने बिजुलीबाट केही नाफा आर्जन गरुन् भनेर शुल्क तय गर्ने अभियानमा पनि जुटेको छ। यसका लागि टेन्डर जारी गर्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो अभियानमा समावेश हुन किसानले राजश्व विभागका स्थानीय उपनिर्देशक कहाँ आवेदन भर्नु पर्नेछ।

दिल्ली क्याबिनेटले गत जुलाईमै मुख्यमन्त्री किसान आय बढोत्तरी योजनालाई मन्जुरी दिएको थियो।

भारतमा कुनै राज्यले लागु गर्न लागेको यो पहिलो योजना हो। योजना लागु भएपछि दिल्लीका किसानहरूको आम्दानी तीन गुणाले बृद्धि हुने बताइएको छ। दिल्ली सरकारको ग्रीन बजेटअन्तर्गत यो अभियानलाई स्विकृति दिएको हो। यसअन्तर्गत कृषियोग्य भूमिको निश्चित मापदण्डमा सोलार प्यानल जडान गरिनेछ।

सोलार जडान गर्ने काम निजी कम्पनीले गर्नेछ। कम्पनीले किसानसँग २५ वर्षको सम्झौंता गर्नेछ। ६ एकड भूमिमा हरेक दिन एक मेगावाट बिजुली उत्पादन हुनेछ।

यसमा हरेक १५ दिनमा सोलार प्यानललाई पानीले सफा गर्नु पर्नेछ। यसले किसानलाई खेतमा सिँचाई गर्न पनि सहयोग पुर्याउने आशा गरिएको छ। योजनाअन्तर्गत किसानले बार्षिक एक लाख रुपैयाँ प्रति एकड जमिनबापत पाउने छन्।

 

 

प्रकाशित मिति: : 2019-11-25 09:15:24

प्रतिकृया दिनुहोस्