पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ तमाखेका गंगाप्रसाद गुरुङ्ले आफ्नो बगानको अलैंची संकलन गरे। गुरुङ्को ६४ रोपनी जग्गामा तीन ओटा बगान छ। गतसाल १७ मन उत्पादन भएको गुरुङको अलैंची यसपाली भने १० मन मात्रै उत्पादन भयो। बगान बीचमा सडक बाटोले क्षति पुर्याएको छ र गोलिया फडानीले गर्दा अलैंची उत्पादन घटेको गुरुङ्ले बताए।
सोही ठाउँका टिकाराम गुरुङ्को जम्मा १०० रोपनी जग्गामा अलैंची बगान छ। यस वर्ष उनको बगानमा २५ मन अलैंची उत्पादन भयो। त्यस्तै फिदिम ८ का बलबहादुर तामाङले पनि आफ्नो बगानको अलैंची संकलन गरेर भट्टी लगाउन बाँकी नै छ। गत वर्ष ७ मन उत्पादन भएको उनको बगानमा यस वर्ष भने त्यति राम्रो उत्पादन नभएको उनले बताए।
यस वर्ष जंगल फाँडेर गोलिया निकाल्ने र नयाँ विरुवा रोपेको कारण उत्पादन घटेको तामाङको मत छ। त्यस्तै फिदिम नगरपालिका १४ बाँसबोटेका नरबहादुर राईको गत वर्ष ५ मन (४० किलोको १ मन) उत्पादन भएको अलैंची यस वर्ष भने १२ मन सम्म उत्पादन हुने अनुमान छ। तर बजारमा पुर्याएर ठ्याक्कै तौलिएका भने छैनन्।
अलैंची किसानहरुमा मुल्यले गर्दा जोस जाँगर घटेको भएपनि उत्पादन भने राम्रो भएको पाइएको छ। ‘जेलाइपनि स्याहार गर्नुपर्छ, हामीले घरैमा प्राङ्गारिक मल निर्माण गरेर बगानमा लगाउँदै आएका छौं।' अलैची किसान गंगा गुरुङ्ले भने। उनले गाईवस्तुको पिसाब संकलन गरेर त्यसमा तितेपाती, टिमुर र अंगेरी मिसाएर प्राङ्गरिक मल निर्माण गर्ने गरेका छन्। त्यसपछि त्यो मललाई पानीमा घोलेर स्प्रिङ कलबाट अलैंचीको बोटमा छर्किने गरेका छन्।
मूल्य घटेर निराश बनेका देशभरका किसानहरु राम्रो आम्दानी हुने आशामा अलैंची टिप्न व्यस्त छन्। अलैंची व्यवसायी महासंघको तथ्यांक अनुसार अहिले देशका ४३ जिल्लामा अलैंचीको खेती विस्तार भैसकेको छ। भदौदेखि सुरु हुने संकलनको काम मंसिरमा मात्रै सकिन्छ।
गत आर्थिक वर्षमा झापाको काँकरभिट्टा नाकाबाट कृषि उपजमध्ये सबैभन्दा बढी निर्यात भएको अलैंचीको संकलन बेसी (औल)क्षेत्रबाट सुरु हुन्छ। बेशीबाट पाक्न सुरु हुने अलैंची लेकमा पाकेर टिपिसक्दा सकिन्छ। किसानले जंगल, खेत र बारीमा लगाएको अलैंची बगानबाट बोट भित्रको थुंगा–थुंगा काटेर बाहिर निकाल्नु पर्छ। बोटबाट काटेर थुंगा निकाल्ने फलामको हतियारलाई छुरी भनिन्छ। यो निकै तिख्खर लाग्ने हुन्छ। थुंगा टिप्नुअघि सिक्कल (खुकुरी जस्तै काट्ने साधन) ले बगानको सरसफाइ गर्नुपर्छ।
सरसफाइ गर्दा अलैंचीको बोटको पुराना डाँठ आधा काटेर फालिन्छ र झाडीहरु फाँडिन्छ। थुंगाबाट दाना छुट्याउनु पर्छ। धेरै जसो किसानहरु दानापनि ठुलो र सानो अलग–अलग गर्छन्। ठुलो र सानो दानाको मूल्य अलग–अलग हुन्छ। त्यसपछि आगोको रापमा सुकाइन्छ। अलैंची सुकाउने कामलाई भट्टि लगाउनु भनिन्छ। अलैंची भट्टी लगाउन पहिले नै ढुंगाको गाह्रो लगाएर सानो भट्टी घर बनाएका हुन्छन्। भट्टीको माथि अलैंची राखिन्छ र तलबाट ठूलठूला दाउरा लगाएर आगोको राप लगाइन्छ। दानामा पानीको मात्रा सकिएर सरङ–सरङ गर्ने भएपछि जुटको बोरामा प्याक गरिन्छ। त्यो चाहिँ बिक्रिका लागि योग्य मानिन्छ।
बि.सं. १९८० को दशकतिर पहिलो पटक नेपाल भित्रिएको अलैंची पहाडी जिल्लाका किसानको आकर्षक खेतीको रूपमा विकास भैरहेको थियो। ताप्लेजुङ, इलाम, संखुसासभा, पाँचथर जस्ता जिल्लाको मूख्य आम्दानीको रूपमा पनि विकास भएको थियो। तत्कालिन कृषि विकास कार्यालय पाँचथरकोे कृषि डायरीमा उल्लेख भएअनुसार अलैंची सबैभन्दा पहिला भारत सिक्किमबाट नेपालको इलाम भित्र्याइएको उल्लेख छ।
यसको व्यवसायिक खेतीपनि इलामबाटै सुरु भयो। त्यसपछि अरु पहाडी जिल्लामा विस्तार भएको पाइन्छ। सिक्किमसँग जोडिएका ताप्लेजुङ, इलाम र पाँचथरमा सबैभन्दा बढी अलैंची खेती लगाइएको छ । ४१ वडा रहेको पाँचथरका प्रायजसो सबै वडामा अलैंची खेती गरिएको छ। कृषि सूचना केन्द्रको तथ्यांक अनुसार देशभरीबाट ५ हजार मेट्रिक ट्रन बराबर वार्षिक उत्पादन हुने गरेको छ। पाँचथरमा पाँच हजार ६५८ हेक्टर क्षेत्रफलमा प्रति हेक्टर ०.३९३ मेट्रिकटन उत्पादन हुने गरेको छ।
बोटलाई छुट्याएर रोप्दा सजिलै सर्ने अलैंची सुरुमा करेसाबारीको रुपमा लगाइदै आएको थियो। उत्पादित फल दाना पिसेर लगाउने र चिया पिउन प्रयोग गरिन्थ्यो। दाल, तरकारीमा लगाउन मसलाको रुपमा पनि यसको प्रयोग गरियो।
उत्पादन बढ्दै गएपछि बजार खोज्ने क्रममा २०२७र२८ सालतिर देखि धरानमा लगेर नुनसँग अलैंची साटिएको बुढापाकाको भनाइ छ। २०४७ सालमा प्रतिमन ५ देखि ८ हजारसम्ममा कारोवार भएको अलैंची त्यसको ६ वर्षपछि २०५३ सालमा झण्डै तेब्बरले बढेर प्रतिमन २० हजार पुगेको थियो। यसरी भएको मुल्य वृद्धिले किसानलाई उत्साहित बनायो। त्योबेला कति अलैंची उत्पादन तथा निर्यात हुन्थ्यो भन्ने यकिन नभएपनि २०६४ सालदेखि तथ्यांक राख्न थालेको पाइन्छ। नेपाल, भारत र भुटान तीन देशमा एकै खालको अलैंची उत्पादन हुन्छ।
समुद्र सतहबाट ८ देखि १८ सय मिटर सम्मको उचाइमा अत्यन्तै राम्रो उत्पादन दिने अलैंची २४ सय मिटरसम्म पनि सय मिलिमिटर सम्म वर्षा हुने ठाउँमा राम्रो फस्टाएको पाइन्छ। ८ देखि २० डिग्रीको तापक्रम र भिरालो चिस्यानयुक्त सेपिलो जमिन अलैंचीका लागि उपयुक्त हुने विज्ञहरु बताउँछन्। देशभरीको अधिकांस अलैंची झापाको विर्तामोड, सुनसरीको धरान र इटहरीमा जम्मा हुन्छ। त्यसपछि काँकरभिट्टा नाका भएर भारत निर्यात हुन्छ।
गत वर्ष सम्म बिराटनगरको जोगमुनी भन्सारबाट निर्यात हुँदै आएकोमा यो वर्ष देखि काँकरभिट्टाबाट जान थालेको हो। विर्तामोडसम्म किसानले प्याकिङ गरेको जस्ताको तस्तै पुग्छ। विर्तामोड र सुनसरीमा झुस झार्ने पुच्छर काट्ने काम गरिन्छ। नेपालबाट भारतसम्म जुटको बोरामा जान्छ। त्यसपछि भारतीय उत्पादनको रुपमा आकर्षक प्याकमा तेश्रो मुलुक लैजाने गरिएको छ। भारतबाट पाकिस्तान र खाडी राष्ट्रका युएइ, दुवइ, साउदी अरव कतार जस्ता देशमा अलैँची निर्यात हुन्छ ।
पहिले नुनको बोरासँग साटेको अलैंचीको मूल्य प्रतिमन १ लाख २० हजारसम्म पुगेको थियो। अहिले मुख्य व्यापारिक केन्द्र विर्तामोडमा प्रतिमन ३० हजारमा झरेको छ। यो वर्ष २४ हजारसम्म झरेको थियो। सरकारले दररेट निर्धारण नगरेका कारण भारतीय व्यापारिको भरमा पर्नुपरेको पाँचथर अलैंची व्यवसायी संघका अध्यक्ष ख्याम अधिकारीको भनाइ छ। यस्ले किसान र व्यवसायी दुवैलाई असुरक्षित बनाएको छ।
किसानको अपेक्षा मूल्य वृद्धिमा छ। कम्तिमा प्रतिमन ५० हजार रुपैंया पुगे लगानी उठाउन सकिने गंगा गुरुङ् बताउँछन्। ‘बगान फाड्नु, टिप्नु, गोडमेल गर्नु, मल, पानी लगाउँदा खर्च धेरैनै बड्छ,’ गुरुङ्ले भने, ‘अहिलेको मूल्यले निरास छौं। किनकी मूल्यनै उठाउन गाह्रो हुन्छ।’ अस्थिर र उतार चढाव भइरहने भएकाले मुल्य बढ्नेमा आशावादी रहेको गुरुङ्ले बताए । हरेक किसान अहिले मुल्य घटेपनि उत्पादन बढ्ने आशा लिएर बगान छिरेका छन्।