उद्यमीको कथा शृङ्खला -५:
यो एकादेशका कथा होइन। मुगु जिल्ला कार्मारोङ गाँउपालिकाको टाढाको गाउँ ताखाको कथा हो। कुरा २०५५ सालको हो। उमेर २१ वर्षको थियो। गाउँकै केटासँग बिहे भयो। त्यसभन्दा अघिको लभ-सबको चक्करबारे उनी खुल्न सक्दिनन्। बरू जवाफ मुसुक्क मुस्कुराएर दिन्छिन्। बुझ्नेलाई इसारा काफी।
केटा चार वर्ष कान्छा थिए। यो वास्ता गर्नुपर्ने विषय थिएन। ‘एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार।’
बिहे भोटे परम्परा अनुसार भयो। भोटे परम्परामा बिहे भएको चार वर्ष श्रीमानबाट अलग बस्नुपर्छ। भर्खर बिहे गरेको प्यारो जीवन साथी छोडेर माइत बस्नुपर्यो, मन नहुँदा नहुँदै पनि परम्परा धान्नलाई।
माइत बस्दा उति उत्साह थिएन। प्राणभन्दा प्यारो जीवनसाथीसँग छुट्टिएर बसेका ती दिन निकै उराठलाग्दा थिए। त्यो भन्दा कयौं गुणा उराठलाग्दो र पीडादायी रोग लाग्यो। केही दिन ठिक भैजाला भन्दैमा बिते। तर एक दुई दिन भन्दै लामो समय गुज्रियो, निको भएन। मन आत्तिन थाल्यो। घरकाले आफ्ना मान्ने गन्ने धामीझाँक्री लगाए सन्चो भएन। नजिकै भएका स्वास्थ्यकर्मी डाके भएन। केही नभएपछि उनका श्रीमानलाई माइत बोलाइयो। त्यसबेला रोगले झन् च्याप्दै झन् गएको थियो। उनी थलिएकी थिइन्।
श्रीमानले दुई दिन लगाएर मुगु जिल्ला अस्पताल पुर्याए। त्यहाँ थाहा भयो धामीझाँक्रीले फुकेर वा नारी छामेर निको नहुने रोग लागेको रहेछ। डाक्टरले ‘क्षयरोग लागेको छ’ भने। डाक्टरले रोग त पत्ता लगाए, तर औषधि गरेनन्। मुगुमा उनको रोगको उपचार गर्ने औषधि थिएन। ‘नेपालगन्ज, सुर्खेत वा जुम्लामा गएर उपचार गर्नुहोस्,’ भनेर डाक्टरले सल्लाह दिए।
मन त नेपालगन्ज वा सुर्खेत गएर उपचार गराउने थियो। तर, घरको अवस्था अत्यन्तै नाजुक थियो। आर्थिक अभावका कारण उनीहरू मुगुबाट तीन दिनको बाटो हिँडेर अन्तिम विकल्पको रुपमा रहेको जुम्ला पुगे।
हालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यसबेला अञ्चल अस्पताल र आईएनएफमा बाँढिएको थियो। आईएनएफ कुष्टरोग र क्षयरोग उपचार केन्द्र थियो। त्यहीँ उनको उपचार भयो।
लगातार आठ महिनासम्म उनी अस्पतालमै बसिन्। नबिराई औषधी सेवन गरेपछि क्षयरोग निको भयो।
यो कथाकी पात्र हुन्- कुञ्जाङ पुटिक तामाङ। जो एक सफल उद्यमी बनिसकेकी छिन्।
उपचारको क्रममा जुम्ला आउँदा घरबाट ल्याएको पैसा सकियो। घरकै आर्थिक अवस्था राम्रो नभएपछि सधैँ उतैको आस गरेर पनि नहुने। भाडाको कोठामा बसेपछि बिहान साँझ मुखमा माड र भाडाको जोहो नगरी नहुने। बैंक तथा वित्तीय संस्था, साहु महाजनले ऋण पत्याउनलाई ठूलो स्टाटस थिएन। त्यसैले उनीहरुलाई के लाउँ के खाउँ भन्ने चिन्ताले सताइरहन्थ्यो। न कमाई खाने जग्गा थियो नत कुनै व्यवसाय। भोको पेट कसरी भर्ने?, चार औंला मुखभित्र कसरी पसाउने, भन्ने चिन्ताले पिरोलिरहन्थ्यो। मिठो मसिनो खान त उहीँ शिशिर योगीले भनेझैं ‘राम्रो लाउन र मिठो खान चाडवाड नै कुर्नुपर्थ्र्यो’ थियो।
सधैँ यसरी नचल्ने भएपछि सानो लगानीमा केही गर्नुपर्छ भन्ने लाग्यो। सानो लगानीमा बढी मुनाफा हुने घरेलु मधिरा थियो। उनले कमाउने भाँडोको रूपमा रक्सी बनाउन थालिन्। भाडाको सानो कोठा भित्र रक्सीको गन्धसँग दिन गुजार्दै व्यवसाय चलाइन्।
रक्सी बेचेर गुजारा चलिरहेको थियो। लाउन खान समस्या थिएन। तर, सामाजिक हैसियत साह्रै गिर्दो थियो। समाजका बहुसंख्यकले उनलाई जाँड, रक्सी बेच्ने भनेर होच्याउन थाले। हुन त जाँड, रक्सी बनाउने उनको पुर्खौली पेशा र सीप हो। पुर्ख्यौली पेसा अंगालेर ठूलो भुल गरेकी थिइनन्। तर, यस्तो कामले सामाजिक हैसियत प्राप्त गर्न उति सजिलो थिएन।
उनी रक्सी बेच्नेमात्र गर्दैन थिइन्। कोही डेरामा आयो भने त्यहीँ रक्सी खुवाउने पनि गर्थिन्। 'जो आएर रक्सी खान्थे उनैले अश्लील शब्द बोलेर धम्काउँदै जान्थ्ये’ उनले सुरुवातमाको आफ्नो पेशालाई सम्झदै भनिन्, 'मलाई आफ्नो कामप्रति आत्मग्लानी हुँदै गयो। राति निन्द्रा लाग्न छोड्यो। कुनै पनि हालतमा पेशा परिवर्तन गर्नुपर्ने सोच बनाएँ।’
उनकोमा रक्सी खाएकाको खबर पनि राम्रो नसुनिने। उनीहरु रक्सी खाएर लडेको, परिवार बिग्रिएको, झगडा परेको जस्तो खबरले उनलाई मनमनै रक्सी बेच्दिनँ भनेर कसम खान बाध्य बनायो।
२०६४ मा घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा उद्यमशीलताबारे तालिम खुलेको थियो। उनले आवेदन दिइन्। छनोट भइन्। एक महिनाको तालिममा झोला, लिउ, राडीपाखी बनाउने सीप सिकिन्। तालिम सकिएपछि उनले घरमा झोला, लिउ र राडीपाखी बनाएर व्यापार गर्न थालिन्। विस्तारै आम्दानी बढ्दै गयो।
आम्दानीको दायरा फराकिलो बन्दै गएपछि २०७० मा उनले घरेलुमा उद्योग दर्ता गरिन्। वैधानिक रुपमा सरकारलाई कर तिर्दै उद्यम सञ्चालन गरिन्।
यो पेसाले उनलाई सन्तुष्टि दिलायो। गुमेको सामाजिक मान-प्रतिष्ठा विस्तारै फिर्ता हुन थाल्यो। धेरैको उनीप्रतिको नजर फेरियो। पहिला अश्लील शब्दमा होच्याउनेहरु विस्तारै उनीप्रति नतमस्तक हुन थाले। धेरैले सम्मानभावले हेर्न थाले।
जिल्लादेखि राष्ट्रियस्तरमा उनको चर्चा चुलिँदै गयो। उत्कृट उद्यमीको रूपमा सम्मान पाउन थालिन्। १९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी २०७४ मा उत्कृष्ट लघु उद्यमी पुरस्कार पाइन्। नेपाल सरकारबाट प्रमाणपत्र सहित नगद २० हजार पाइन्। उनी भन्छिन्,'त्यो दिन म चैनले सुते। विगत भुलायो।’ पुरस्कारको राशी थोरै थियो। तर, सम्मान उँचो थियो।
उनको परिश्रमको सम्मान गर्दै पशु सेवा कार्यालयले एउटा मेसिन सहयोग गर्यो। मेसिनहरु राख्ने र उद्योग व्यवस्थित गर्ने बेलामा कृषि विकास बैंकबाट १३ प्रतिशत ब्याजदरमा दस लाख ऋण पनि लिइन्। यसले किस्ता तिर्न सकस हुने उनको अनुभव छ। तर, सहुलियत ब्याजदरको उद्यमी ऋण पाउन नसकेकोमा उनको गुनासो छ। सायद उनको पहुँच नपुगेर पनि हुन सक्छ।
उनको उद्योग गुजारामुखी मात्र थिएन। आम्दानीको दायरा फराकिलो बनाउने खालको थियो। भेडाको उनबाट बनाएका झोला, लिउ र राडीपाखी बेचर जुम्ला सदरमुकाममा लायकको घर, घडेरी जोडेकी छिन्। खर्च कटाएर वार्षिक चार, पाँच लाख बढी बचत गर्दै आएकी छिन्। 'अहिले कमाई राम्रो छ। घर, घडेरी त्यसैबाट जोडेकी हुँ। श्रीमान बेरोजगार छन् तीन छोराछोरी पढाउनेदेखि सबै खर्च राडीपाखीबाटै चल्छ,’ उनले भनिन् 'अब त यो हाम्रो प्राण हो।’
चानचुन दश हजारबाट सुरू गरेको उनको व्यवसायले करोड बराबरको परिणाम दिएको छ। सुरूमा काठका सामाग्रीबाट झोला, लिउ र राडीपाखी हातले बुन्थिन्। त्यसबेला बजार माग धान्न मुस्किल पर्थ्यो। अहिले साना आधुनिक मेसिनको प्रयोग गरेकी छिन्। जसले बजार माग धान्न सकेको छ।
उनी व्यवसायको लागि चाहिने प्रमुख कच्चा पदार्थ भेडाको उन छिमेकी जिल्ला मुगु, हुम्लाका साथै चीनबाट समेत आयात गर्छिन्। 'मैले सीप सिकेपछि मेरो आर्थिक अवस्थालाई हेरेर विभिन्न संघ संस्थाले काम दिन थाले। काम पाएपछि रात दिन, भोक प्यास नभनी काम गरेँ। आज आफ्नो खुट्टामा उभिएकी छु। यही मेरा लागि सबैभन्दा ठूलो कुरा छ,’ उनले हाँस्दै भनिन्।
हाल उनले आफ्नो उद्योगमा चार जना जनजाति महिलालाई ज्यालादारीमा काम दिएकी छिन्। उनीहरुले पनि राम्रै कमाई गर्छन्। ती महिलाहरु बिस्तारै सिपालु भएका छन्। उनीहरुले बनाएका झोला एक हजारसम्म बिक्छन्, लिउ र राडीपाखी १० हजारसम्ममा बिक्रि हुने गरेका छन् भने कोट बनाउने कपडा मिटरको दुई हजारमा सजिलै बिक्री हुन्छ।
उत्पादन कसरी बढाउने त्यही धोको छ। बजारको कुनै चिन्ता छैन। 'जनजाति भोटे महिलाहरू काम नपाएर अहिले पनि जाँड रक्सी बनाएर बेच्छन्। यो उनीहरुको बाध्यता हो,’ उनले आफ्नो अमल लाग्दो विगत सम्झिँदै भनिन्, 'खेतीपाती, व्यापार, व्यवसाय नभएकाहरु भोको पेट पाल्न जाँड बनाएर बेच्न बाध्य महिलालाई रोजगारी दिएकी छु। उनीहरुलाई देख्दा आफ्नो विगत सम्झिन्छु। आँखा रसाउँछन्। उनीहरु पनि सीप सिकेर म जस्तै बनुन्। मेरो चाहना यही हो।’
पीडित महिलाहरुले आफ्नो जस्तो उद्यम गर्न चाहेको खण्डमा सकेको सहयोग गर्ने बताउँछिन्।
पछिल्लो समय बजारमा नयाँ नयाँ डिजाइनका कपडाको माग भइरहेको छ। राडीपाखीका साथै उनीका कपडाले मनाङ, मुस्ताङ, सुर्खेत, काठमाडौंलगायतका सहरहरुलाई बजार बनाउन सकेका छन्।
माग अनुसार पूर्ति गर्न नसकिएकाले उनले अब ठूलो उद्योग सञ्चालन गर्ने सोच बनाएकी छिन्। लगानी बढी लाग्ने भएकाले घरजग्गा धितो राखेर ऋण निकाल्ने सोच छ। करीब एक करोडको लगानीमा जुम्ला सदरमुकामै ठूलो उद्योग खोल्ने र देशका विभिन्न जिल्लामा अर्गानिक खाद्य वस्तुसहितको झोला, लिउ र राडीपाखी तथा उनीका कपडा निर्यात गर्ने र विदेशसम्म बजार विस्तार गर्ने योजना छ। उनको यो महत्वाकांक्षी योजना सफल भएमा उनका सामानको बजार विस्तार हुनुका साथै रोजगारी प्रवर्द्धन हुनेछ भने राज्यले कर पाउनेछ।
गरिबीका कारण सानोमा विद्यालयको मुख नै नदेखेकी उनी पढ्न नपाएकोमा पछुतो मान्छिन्। तर, प्रौढ शिक्षा पाएकाले सामान्य लेखपढ र हर हिसाबमा खास समस्या छैन। अहिले उनी साँझतिर तिब्बतीयन भाषाको कक्षा पनि लिइरहेकी छिन्।
रोजगारीको सुनौलो गन्तव्य विदेशलाई सम्झने नेपाली समाजलाई हाम्रो स्थानीय श्रोत, साधन, श्रम र सीपको प्रयोग गरेर अगाडि बढ्न सकिने उनको राय छ।
मुगु ताखाबाट सुरु भएको उनको कथाले जुम्ला चन्दननाथ नगरपालिका २ मा निरन्तरता पाइरहेको छ।