धानको बिरुवामा ‘सिथब्लाइट’ लागेपछि किसान चिन्तित

पर्साको पोखरिया नगरपालिकाको गर्दौटमा आइतबार खेतमा लगाएको धानको बोटमा विषादी छर्ने तयारी गर्दै किसान । पर्सामा लगाइएको अगहनी धानको ८० प्रतिशत धानको बोटमा सिथब्लाइट रोग लागेपछि किसान चिन्तित भएका छन । तस्वीरः बिजय कुमार महतो

अगहनी धानको बिरुवामा लागेको ‘सिथब्लाइट’ रोगका कारण धानको बिरुवा सड्न र सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

जिल्लामा लगाइएका अगहनी धानको ८० प्रतिशत बिरुवामा उक्त रोग लागेकाले उनीहरू  चिन्तित भएका हुन् । जिल्लामा लगाइएको ३५ हजार हेक्टर उक्त जातको धानमध्ये २८ हजार हेक्टर खेतमा सिथब्लाइट रोगको सङ्क्रमण देखापरेको छ । यो रोग लागेपछि  बिरुवामा औषधिको प्रयोग नगरे पूरै बिरुवा नै सडने वा सुकेर जान्छ ।

उक्त रोगका कारण आफूहरुको थप लगानी बढ्नाका साथै उत्पादनमा समेत ठूलो असर पारेको पोखरिया नगरपालिकाको गर्दौल निवासी देवराज पासवानले गुनासो गरे।

उनले उक्त जातको धान बालीबाट  आम्दानी कम हुने गरेकामा  औषधि हाल्दा प्रति विघा दुईदेखि अढाई हजारको अतिरिक्त खर्च बढ्ने जानकारी दिए। बहोदरमाई नगरपालिका–८ रामनगरीका किसान  नन्दु रामले अनुदानको माल नपाउँदा र  खर्च गरेरै  सिंचाई गर्नुपर्दा पहिलादेखि लगानी बढेकामा उक्त रोग  लागेपछि आफूहरु थप पीडित भएको बताए।

सीमावर्ती भारतीय क्षेत्रबाट किसानले खरीद गरी ल्याएको एम.टी.यु ७०२९ अर्थात् सोना मन्सुली धानको बीउसँगै यो रोग नेपाल भित्रिएको कृषि ज्ञान केन्द्रले  जनाएको छ। पहिलो पटक यो रोग सन् १९६८ मा नेपालमा देखापरेको उनको भनाइ थियो । सो रोग लागेको बिरुवामा ‘हेकजाकोनाजोल’ नामक विषादी प्रयोग गरे उत्पादन जोगाउन सकिने उक्त केन्द्रका बाली अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए।

उनले एक लिटर पानीमा एकदेखि डेढ एमएल हेकजाकोनाजोल मिसाई घाम लागेको बेला हप्तामा दुई पटक खेतामा छर्दा रोग नियन्त्रणमा आउने बताए।

सिथब्लाइट रोगको सबैभन्दा बढी सङ्क्रमण सोना मन्सुलीमै हुने भएकाले त्यसको सट्टा नेपालमा नै उत्पादन भएको स्रोनासव–१ बीउ प्रयोग गर्न उक्त केन्द्रले आग्रह गरेको थियो। सिथब्लाइटको जीवाणु २४० दिनसम्म खेतको माटोमा जीवित रहन सक्ने भएकाले धानको जात परिवर्तन गरे रोगको प्रकोपबाट जोगिन सकिने अधिकृत चौरसियाले जानकारी दिए।

सिमापारिबाट खरीद गरिएको बीउ रोप्दा जोखिमी हुनसक्ने भएकाले नेपालमा नै तयार पारिएको बीउलाई प्रयोग गर्न उक्त केन्द्रका अधिकारीले सुझाब दिए । गत वर्ष जिल्लामा  ४५ हजार हेक्टर जमीनमा रोपाइँ भएकामा यस वर्ष ४७ हजार ५० हेक्टरमा रोपाइँ  भएको छ । रासस

प्रकाशित मिति: : 2019-09-08 14:22:58

प्रतिकृया दिनुहोस्