इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन

झापाको एक चिया बगान।

झापा । चियाका लागि प्रख्यात जिल्ला कुन हो? उत्तर हुन्छ, इलाम। फेरि प्रश्न आउन सक्छ, नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो? धेरैलाई लाग्न सक्छ, इलाम हो।

 पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ। इलाममा एक हजार ८८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेकोमा झापामा ६ हजार ५३४ दशमलव दुई हेक्टरमा चिया खेती हुने गरेको पाइएको छ ।

 केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार इलाममा १ करोड ५९ लाख ७० हजार ६७२ दशमलव आठ किलोग्राम हरियोपत्ती उत्पादन हुने गरेको र झापामा आठ करोड २५ लाख १७ हजार ४१५ दशमलव छ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले ०७४/०७५ मा गरेको सर्वेक्षणमा चिया खेती गर्ने व्यवासायी भने इलाममा बढी देखिएका छन् । इलाममा पाँच हजार ५९८ चिया खेती गर्ने व्यवसायी भएकोमा झापामा भने एक हजार ६०१ चिया व्यवसायी रहेको देखिएको छ ।

यस्तै, उत्पादन दिने चियाको विरुवाको पनि झापामै बढी भएको तथ्याङ्कले देखाएको छ । झापामा छ करोड ३५ लाख ४८ हजार ५७४ उत्पादन दिने चियाको विरुवा भएकोमा इलाममा चार करोड पाँच लाख ८१ हजार ३१८ उत्पादन दिने विरुवा रहेको पाइएको छ ।

सरकारले पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेको भएपनि अन्य जिल्लामा भने चिया उत्पादन कम मात्र हुने गरेको देखिएको  छ । सरकारले घोषणा गरेका जिल्लामध्ये धनकुटामा तीन लाख आठ हजार ९२६ दशमलव पाँच किलोग्राम, तेह्रथमुमा एक लाख ५० हजार ७४२ दशमलव छ किलोग्राम, पाँचथरमा सात लाख ६४ हजार ५५५ दशमलव आठ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ ।

देशका १४ जिल्लामा अहिले चिया खेती हुने गरेको छ । कुनैबेला सीमित र कम जिल्लामा मात्र चिया खेती हुने गरेको भएपनि विस्तारै अन्य क्षेत्रमा खेती गर्ने क्रम बढेको देखिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षभन्दा बढी भए पनि यसले व्यवसायिक रूप लिएको भने खासै बढी समय भएको छैन।

सरकारले २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि नेपालमा चिया खेतीले व्यावसायिक रूप लिएको हो । सर्वेक्षणअनुसार नेपालमा नौ हजार दुई सय ३६ व्यावसायिक चिया खेती हुने बगान रहेकामा २९ दशमलव नौ प्रतिशत मात्र प्राङ्गारिक चिया खेती हुने बगान रहेको पाइएको छ ।

चिया खेतीमा अधिकांश पुरुष

नेपालमा हालसम्मको तथ्याङ्क हेर्दा चियाका व्यवसायीमध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिला रहेको देखिएको छ । सर्वेक्षणअनुसार नेपालमा सबैभन्दा बढी चिया सिटिसी चिया उद्योगबाट उत्पादित हुने गरेको पाइएको छ ।

नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसि उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार छ सय ७० मेट्रिक टन, दुई सय २० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने गरेको छ । रासस

प्रकाशित मिति: : 2019-07-22 16:44:18

प्रतिकृया दिनुहोस्