चार वर्षपछि खुल्यो तातोपानी नाका

तातोपानी नाकाबाट सामान लिएर नेपाल भित्रदै गरेको मालबाहक ट्रक। तस्बिरः विजय नेपाल

वि.सं. २०७२ सालको भूकम्पपछि बन्द रहेको नेपाल र चीन जोड्ने उत्तरी नाका तातोपानी नाका आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ।

नेपालका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र चिन सरकारको वाणीज्य उपमन्त्री झाङ जिवाङले संयुक्त रुपमा नाका खोलेको घोषणा गरेका हुन्।

चीन तर्फबाट ऊन बोकेको चार वटा कन्टेनर भ्यान नेपाल प्रवेश गरेसँगै नाका खुलेको हो।

नेपालका आपूर्ति मन्त्री यादवले नेपाल एक चीन नीतिप्रति सदैब प्रतिवद्ध रहेको भन्दै अगाडि भने, ‘नेपाल चारैतिरबाट जमीनले ल्याण्ड लक कन्ट्री भनेर चिनिन्छ, तर अब यो ल्याण्ड लिङ्क कन्ट्री भनेर आफ्नो परिचय बनाउँदैछ।’

मन्त्री यादवले नेपाल व्यापार घाटामा चलिरहेको मुलुक भएको भन्दै नेपालमा उत्पादन बढाई यसै नाकाबाट चीन निर्यात हुने सामाग्रीको लागि पनि चीनसँग सहयोग गर्न आग्रह गरे। ‘नेपाल सवृद्धिको बाटोमा अगाडि बढिरहेको हुनाले अब यो नाका खुलेर नेपालबाट सामाग्री निर्यात हुनथाले पछि थप संवृद्धीको अपेक्षा गर्न सकिन्छ।’

उद्घाटन कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ छी ले तातोपानी नाका नेपाल र चीनबिचको लाइफलाइन भएको बताइन्।

भूकम्पले क्षति पुर्‍याएको तातोपानी क्षेत्रमा नेपाल सरकारसँग समन्वय गरेर चिन सरकारले सुख्खा बन्दरगाह, सडक, पुल लगाएतको विकासमा हातेमालो गर्न पाएकोमा आफू निकै हर्षित भएको बताइन्। उनले आगामी दिनमा पनि अरनिको राजमार्गको स्तरोन्नतीको लागि सहयोग गर्दै जाने बताइन्।

चीनका बाणीज्य उपमन्त्री झाङ जिवाङले प्राकृतिक विपत्तीले पारेको असहज अवस्थामा छिमेकीको हैसियतले आफ्नो मुलुकको तर्फबाट हातेमालो गरी सुधार गर्न पाएकोमा हर्षीत भएको बताए ।

चीन सरकारको सहयोगमा तातोपानी सिमानाबाट ६ किलोमीटर तल सुख्खा बन्दरगाह निर्माणको काम समेत सम्पन्न भैसकेको छ।

बन्दरगाहसम्म पुग्नको लागि पक्की पुलसमेत चिनियाँ सरकारको तर्फबाट नै निर्माण गरिएको हो। ८.६ करोड चिनियाँ युवानको लगानीमा सो बन्दरगाह निर्माण गरिएको हो।

बन्दरगाहमा १५८ वटा भ्यान एकैसाथ भन्सार गर्न सकिने गरी निर्माण गरिएको छ। भन्सार कार्यालय, अध्यागमन कार्यालयका साथै बैंक एवं कर्मचारी आवास समेत सोही भवनमा रहनेछ।

हालको लगि मालसामान ओसारपसार गर्न मात्रै नाका सञ्चालन गरीएकोले पर्यटकको लागि पनि नाका सञ्चानल गरीनुपर्ने आवश्यकता महशुस गरिएको छ। त्यसो भएमा मात्रै स्थानीय जनताले समेत नाका खुलेको अनुभव गर्न पाउनेछन् ।

उद्घाटन कार्याक्रममा सिन्धुपाल्चोक प्रतिनिधि सभाका सांसद अग्नी प्रसाद सापकोटा र शेर बहादुर तामाङ, प्रदेश नं. ३ का उद्योग ,वातावरण तथा वन मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतको सहभागीता थियो।

प्रकाशित मिति: : 2019-05-30 00:40:02

प्रतिकृया दिनुहोस्