२ वर्षअगाडि कतारको अवस्था निकै सामान्य थियो। विश्वको सर्वाधिक कमाई हुने यस देशले ८० प्रतिशत खाद्यान्न विदेशबाटै आयात गर्दथ्यो। डेरी प्रोडक्ट, खास गरेर दुद्य र दहीमा पुरै परनिर्भर थियो कतार।
सन् २०१५ को सरकारी आँकडालाई आधार मान्ने हो भने साउदी अरेबियाको बोर्डरबाट मात्र कतारले बार्षिक ४० करोड अमेरिकी डलर बराबरको डेरी तथा खाध्य वस्तु आयात गर्दथ्यो। यसमा पनि तरकारी बाहेक दुद्य र दहीको मात्रा बढी थियो। साउदीको चर्चित अलमाराई कम्पनीबाट मात्र दैनिक ४ सय टन दुद्य र दही कतार भित्रिन्थ्यो।
तर, साउदी अरेबियाकै नेतृत्वमा ५ जुन २०१७ मा अरब लिगमा आवद्ध देश बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेट्सले इरानसँग सम्बन्ध राखेको र आतंकवादीहरूलाई गोप्य रुपमा आर्थिक सहयोग गरेको भन्दै कतारलाई एक्कासी नाकाबन्दी गर्यो।
कतारसँग सडक र समुन्द्री मार्ग जोडिएको यी छिमेकी देशले सडक र समुन्द्र मात्र होइन, आकाशको बाटो पनि बन्द गरेपछि कतारको जन–जीवन पूर्णरुपमा प्रभावित बन्यो। कतारको अवस्था सन् २०१५ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीभन्दा कष्टकर थियो।
कतारवासीहरू बैकमा भएको आफ्नो पैसा धमाधम झिकेर युरोप तथा अमेरिकातर्फ लैजाने अभियानमा जुटिसकेका थिए। यतिबेला सन् २०२२ मा विश्व कप फुटबल आयोजना गर्ने तयारीमा रहेको कतारको अभियान प्रभावित बन्ने आशंका उत्पन्न भइसकेको थियो।
यस्तो अवस्थामा कतारी सरकारले एउटा ठूलो निर्णय गर्यो। विदेशबाट आयात गरिने तरकारी तथा डेरीजन्य पदार्थमा आत्मनिर्भर हुने।
कतार सरकारले दुई वर्षअघि गरेको त्यो निर्णयले अहिले विश्व जगतलाई चकित तुल्याएको छ। र, हाम्रो जस्तो देशका नेताहरूलाई एउटा स्पष्ट सन्देश दिएको छ– नेतृत्वले चाहेको खण्डमा नहुने के पो रहेछ र?
कुनै बेला साउदीबाट दैनिक ४ सय टन दुद्य र दही आयात गर्ने कतार दुई वर्षभित्र उल्टै १ सय टन निर्यात गर्ने अवस्थामा पुगेको छ।
कतार सरकारले डेरी प्रोडक्टमा आत्मनिर्भर हुने संकल्प गरेको ५ महिनाभित्र सबै गृहकार्य पुरा गरिसकेको थियो।
उसले बालाद्ना कम्पनीसँग मिलेर युरोप र अमेरिकाबाट उन्नत जातका ४ हजार गाई कतार एयरलाइन्सको कार्गोमार्फत देश भित्र्याएको थियो।
राजधानी दोहादेखि ६० किलोमिटर उत्तरमा पर्ने अल–खोरमा बालाद्ना कम्पनीको डेरी फार्म रहेको छ। २६ लाख स्क्वायर मिटरमा फैलिएको यो डेरी फर्म अहिले कालो र सेतो टाटेपाटे रंग भएको १४ हजार ‘होल्सटियन क्याटल’ जातका गाईहरूको घर हो।
एउटै गाईले दैनिक ३३ लिटरसम्म दुद्य दिने गर्छन्। दुद्य दुनका लागि ६ वटा ‘क्लस्टर’ निमार्ण गरिएको छ। एउटा ‘क्लस्टर’ मा एकै पल्ट एक सय गाईले मेसिनको सहयोगले दुद्य दिने गरेका छन्। गाईलाई दिनमा तीन पल्ट दुहुने गरिएको छ। एक पल्टमा एउटा गाईले १२ लिटर दुद्य दिने गरेका छन्।
अल–खोरको यो डेरी कम्पनी अवलोकनका लागि दिनहुँ २ हजार पर्यटक भित्रिने कम्पनीका सुरक्षागार्ड भिखारी महतो बताउँछन्। सिरहा खुसीपुरका यी युवा ८ महिनाअघि यस कम्पनीमा आवद्ध भएका थिए। उनी भन्छन्, ‘गाईको नियमित हेरचाह गर्नेदेखि गाई दुन मेसिनमा लैजाने सबै ठाउँमा गरि सयौंको हाराहारीमा हामी नेपाली कार्यरत छौं।’
दुई वर्षअघिसम्म साउदीको अलमराई कम्पनीमा काम गरिरहेका नेपाली कामदारहरू अहिले बालाद्ना कम्पनीमा काम गर्दै गरेको पनि भेटिन्छन्।
‘डेरी प्रोडक्टमा कतार आत्मनिर्भर बनेपछि नाकाबन्दीको उल्टो असर साउदी अरेबियामा परेको छ। अहिले अलमराईको अवस्था राम्रो सुनेको छुइन्,’ कतारमा व्यापार गरेर बसेका गोरखा निवासी श्रीकृष्ण भट्टराई भन्छन्, ‘उताबाट अनुभव प्राप्त नेपाली दाजुभाई अहिले यता राम्रो मूल्यमा काम गरिरहनु भएको छ।’
कतारमा गर्मीमा तापक्रम ५० डिग्री माथि पुग्ने गरेको छ। त्यसैले यी गाईको सुरक्षाका लागि कम्पनीले विशेष ध्यान पुर्याएको देखिन्छ। गाई राख्ने सबै ठाउँमा कुलर तथा एयर कन्डिसनको व्यवस्था गरिएको छ।
गाईको विशेष हेरचाहका लागि लेबनानबाट भेटनरी डाक्टरको टिम कार्यरत छन्। अल–खोरमा रहेको बालाद्ना डेरी फार्ममा मात्र २४ हजार गाई पाल्न मिल्छ। कम्पनीले सन् २०२२ को विश्व कप अगाडि अल–खोरमा भएजस्तै थप दुई वटा प्लान्ट विस्तार गर्ने योजना बनाएको छ।
डेरीको पूर्व सफलतापछि कतारी सरकार यतिबेला तरकारीमा पनि आत्मनिर्भर बन्ने अभियानमा जुटेको छ।