आतङ्कवादी हमलापछि बन्द होटल खुल्यो

कोलम्बो, जेठ ३०

धेरै मानवीय क्षति हुनेगरी आतङ्कवादी हमला भएपछि बन्द रहेको श्रीलङ्काको राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटल बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। 

उच्च सुविधा सम्पन्न सो होटल पुनःनिर्माण गरेर झण्डै सात हप्तापछि पुनः सञ्चालनमा आएको हो।

गत अप्रिल २१ तारिखका दिन आतङ्कवादीहरूले गरेको आक्रमणमा परी २५० भन्दा बढीको मृत्यु भएको थियो।

होटल सञ्चालक संस्था साङ्ग्रीला समूहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘स्थानीय समयानुसार जुन ६ तारिखको बेलुका ६ बजेदेखि होटलका सेवाहरू सुचारु भएका छन्।’

आतङ्कवादीहरूले साङ्ग्रीलासँगै कोलम्बोस्थित अरू दुई होटलमा पनि आक्रमण गरेका थिए भने ती दुई होटल पनि केही दिन अगाडिदेखि मात्रै सञ्चालनमा आएका छन् ।

आतङ्कवादीहरूले ती होटल बाहेक अरू तीन चर्चमा पनि आक्रमण गरेका थिए। ती आक्रमणले देश पूरै आतङ्कित भएको थियो भने संसारभरबाट घटनाको चर्को विरोध भएको थियो ।

प्रकाशित मिति: : 2019-06-13 12:52:58

प्रतिकृया दिनुहोस्