शाक्य साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त, को हुन् उनी

तस्बिरः बिएल

राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालका आवासीय राजदूत डा. अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन्।

शाक्य नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

को हुन् शाक्य ?

यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा...

बोलको चर्चित गीतकी गायिका हुन् शाक्य। साथै प्रदेश ३ मा काठमाडौं क्षेत्र नम्बर ९ बाट (तत्कालीन एमालेबाट निर्वाचित) नेकपाका सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन्। 

नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन्। नाताले शाक्य ओलीकी ‘साली’ हुन्। निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन्। तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन्। शाक्य संखुवासभाकी हुन्।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन्। त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन्।

नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो। तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो।

शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन्।

व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५२ करिब एक दशक प्राध्यापन गरेकी थिइन्। साथै अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेकी काम गरेको अनुभव छ।

प्रकाशित मिति: : 2019-06-11 18:50:45

प्रतिकृया दिनुहोस्