टी-१० लिग: पहिलो बलमै सन्दिपले लिए विकेट, टिमको पहिलो जित

तस्बिरः बिएल नेपाली सेवा

युएईमा जारी टि-१० लिग अन्तर्गत सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले विजयी सुरूवात गरेको छ।

शनिबार राति आफ्नो पहिलो खेलमा इयान मोर्गनको कप्तानीमा रहेको दिल्ली बुल्सलाई १९ रनले हराउँदै  प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

अबुधाबीको शेख जायद रंगशालामा पहिले ब्याटिङ गर्दै कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा १० ओभरमा दिल्लीले ८ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो।

दिल्लीको लागि एञ्जेलो म्याथुजले ३१ र कप्तान मोर्गनले २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्नाटकाको बलिङ्गमा नाथन रिमिङ्गटनले २ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिँदा प्याट्रिक ब्राउन र एह्मद राजाले समान २/२ विकेट लिए। सन्दिप लामिछानेले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने क्रममा कर्नाटकाले १० ओभरमा ५ विकेट गुमाएर ११० रन बनाएको थियो। श्रीलंकन ब्याट्सम्यान उपुल थाराङ्गाले सर्वाधिक ४८ रन बनाउने क्रममा २२ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै शाफिकुल्लाह शफिकले ३४ रन बनाए।

दिल्लीका लागि रभी रामपालले २ तथा डेभिड विले र दुश्मन्था चमिराले १/१ विकेट लिए।

सन्दिपको प्रदर्शन

खेलमा सन्दिपले २ ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट लिए।

सन्दिपले आफ्नो पहिलो ओभरै विकेट लिएका थिए। उनले ३ रन दिएर १ विकेट लिएका थिए।

इनिंगको चौथो ओभरमा बलिङ गरेका सन्दिपले पहिलो ओभरमा निकै उत्कृस्ट बलिङ्ग गरे। ओभरको पहिलो बलमै उनले मोहम्मद उस्मानलाई बोल्ड गरे। सन्दिपको गुगलीलाई प्याडल गर्ने क्रममा बल ब्याको किनारा लागेर स्टम्पमा लागेको थियो।

पहिलो ओभरमा सन्दिपले मात्र ३ रन खर्चे जुन १-१ सिंगल रन बाट आयो। ओभरमा सन्दिपले गुगली र गति परिवर्तनको राम्रो मिश्रण गरे। ओभर भर एन्जेलो म्याथुज र ओएन मोर्गन जस्ता अनुभवी ब्याट्सम्यानलाई सन्दिपले रनमा अंकुस लगाएर राख्न सफल भए।

पहिलो ओभर – ३ रन र १ विकेट ( विकेट, ० , १ , १ , ० , १ )

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग गरेपछि लगत्तै स्पेलमा बलिङ गरेका सन्दिपले दोस्रो ओभर महङ्गो भयो।

ओभरको पहिलो बलमा मोर्गनले १ रन लिएर म्याथुजलाई स्ट्राइक दिए। म्याथुजले सन्दिपको दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरे। बाँकी ३ बलमा भने सन्दिप सम्हालिए। चौथो बलमा मिस फिल्ड हुँदा म्याथुजले २ रन लिन सके।

ओभरको पाँचौ बलमा सन्दिपले गरेको गुगलीलाई म्याथुजले स्लग स्वीप गर्न खोज्दा बलले प्याडमा लाग्यो। सन्दिपले निकै आत्मविश्वासी अपिल गरे पनि अम्पायरले आउट दिएनन्। अन्तिम बलमा सन्दिपले १ रन दिए।

दोस्रो ओभर – १६ रन ( १, ६ , ६ , २ , ० , १ )

टि-१० लिगमा सन्दिप दोस्रो सिजन खेलिरहेका छन्। गत सिजन सन्दिप केरलाको लागि खेलेका थिए। उक्त सिजन सन्दिपले ६ खेलमा ६ विकेट लिएका थिए।

सन्दिपको टिमले अब लिग अन्तर्गत आगामी खेल आइतबार बाङ्ग्ला टाइगर्स बिरुद्ध खेल्नेछ। खेल बेलुका ७:३० बजे सुरु हुनेछ। भोलि नै पारस खड्का आबद्ध टिम आबुधाबीले नर्थर्न वारियर्ससँग खेल्दैछ। खेल बेलुका ५:१५ बजे सुरु हुनेछ।

लिग अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पारस खड्काको टिम आबुधाबी र कलन्दर्स बीचको खेल बराबरीमा टुंगिएको थियो।

प्रकाशित मिति: : 2019-11-16 23:43:17

प्रतिकृया दिनुहोस्