बैकुण्ठको दौडको ५० वर्षः मनिलामा विदेशी धावकलाई कसरी झुक्याए बैकुण्ठले? (भिडियोसहित)

बिएल

बैकुण्ठ मानन्धर हामी नेपालीहरूलाई चिनाइरहनुपर्ने नाम होइन। नेपाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने। दक्षिण एसियाली खेलकुदमा कीर्तिमान बनाउने र ओलम्पिकमा म्याराथन दौड पुरा गर्ने पहिलो नेपालीको इतिहास बनाएका बैकुण्ठ वास्तवमै नेपाली खेलकुदका ज्वजल्यमान खेलाडी हुन्।

उनले खेलबाट सन्यास लिएकै करिब तीन दशक बित्न लागिसकेको छ। तर पनि उनी नेपाली खेलकुदमा उत्तिकै सम्मानित र आदरका साथ नाम लिने खेलाडी हुन्। उनले दौडिन थालेको ५० वर्ष पुरा हुँदैछ। ६६ वर्षको उमेरमा अझै उनी उत्तिकै सक्रिय छन्।

उनको दुई दशक लामो खेल जीवनलाई लिएर हरेक साता मंगलबार बिहान ८ बजे हामी ‘बिएल नेपाली सेवा’ मा भिडियो अन्तर्वार्तासहित प्रस्तुत हुदैछौं।

उनीसँग यो अन्तर्वार्ता बरिष्ठ खेल पत्रकार नवीन अर्यालले गर्दैछन्। उनको खेल जीवनसँग जोडिएको अनगिन्ति घटनामध्ये पहिलो भागमा हामी उनको पहिलो अन्तर्राष्ट्रिय खेल जीवनलाई लिएर आएका छौं।

वास्तवमा बैकुण्ठले दौडिन थालेको २०२४ सालदेखि नै हो। तर, उनले राष्ट्रिय पदक २०२८ सालमा जितेका थिए। नेपाली खेलकुदमा उनी स्थापित भएको दिनलाई नै आधार मानेर हामीले उनीसँगको शृंखलालाई ‘बैकुण्ठको दौडको ५० वर्ष’ नामाकरण गरेका छौं।

बैकुण्ठको पहिलो अन्तर्राष्ट्रिय खेल थियो, २०३० सालमा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियन ट्रयाक एन्ड फिल्ड प्रतियोगिता।

यही खेलमार्फत नेपालले पहिलो अन्तर्रवष्ट्रिय पदक घर भित्र्याएको थियो। त्यो पदक जित्ने खेलाडी थिए, नेपाली खेलकुदका अर्का धरोहर जीतबहादुर केसी। जीतबहादुरले पहिलो एसियन ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा काँस्य पदक जितेका थिए।

उनलाई यो पदक जिताउन बैकुण्ठ मानन्धरले निकै ठूलो चलाखी गरेका थिए। आफ्ना अग्रज जीतबहादुरको अझै उत्तिकै सम्मान गर्छन्, बैकुण्ठ। भन्छन्, ‘जीतबहादुर दाइलाई जित्नु भनेको फलामको च्यूरा चपाउनु सरह थियो।’

मनिलामा जापानका दुई धावकले स्वर्ण र रजत जितेपछि जीतबहादुरले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा दौड पुरा गरेर कास्य जितेका थिए। यो स्पर्धामा नेपालकै भक्तबहादुर चौथो र बैकुण्ठ मानन्धर पाँचौ भएका थिए।

जीतबहादुरलाई पदक जिताउने गोप्य अभियानका सूत्रधार बनेका बैकुण्ठले १० किलाेमिटर दौड मुटु फुट्ने गरि दौडिएका थिए। ताकी अन्य देशका खेलाडी पनि उनलाई पछ्याउन जोस्सिएर दौडिउन्। १० हजार मिटर दौडिसकेपछि खेल परित्याग गर्ने उनको योजना थियो। तर, उनले दौड पनि परित्याग गर्नु परेन र जीतबहादुरलाई पदक जिताउने अभियानमा पनि सफल भए। आखिर यो घटना के थियो? हेरौं उनको अन्तर्वार्ता तलको भिडियोमा।

 

प्रकाशित मिति: : 2019-11-12 07:57:18

प्रतिकृया दिनुहोस्