बिराट कोहलीको अनुपस्थितिमा टि–२० टिमको कप्तानी सम्हालिरहेका रोहित शर्माको ऐतिहासिक सयौं खेलमा भारत ८ विकेटले विजयी भएको छ। बंगलादेशबिरूद्ध तीन टि–२० को शृंखलालाई भारतले १–१ को बराबरीमा ल्याएको छ।
शिखर धवन र कप्तान शर्माले पहिलो विकेटका लागि १ सय १८ रनको साझेदारी गरेपछि भारतले जितको आधार तयार पारेको थियो। यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशले भारतलाई १ सय ५४ रनको लक्ष्य दिएको थियो।
कप्तान शर्माले आफ्नौ सयौं टि–२० मा ८५ रन बनाए। उनले २३ बलमा अर्धसतक पुरा गरेका थिए। शर्माको टि–२० मा १८ औं अर्धसतक थियो। उनलाई साथ दिएका धवनले ३१ रन बनाए।
बिहीबार राजकोटमा भएको खेलमा बंगलादेशले ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो। भ्रमणकारी टोलीका लागि मोहम्मद नइमले सर्वाधिक ३६ रन बनाएका थिए। युजर्वेन्द्र चहलले २ विकेट लिए।
अघिल्लो खेलमा अर्धसतक बनाएका मुसफिकुर रहिमले ४ रन मात्र बनाए। लिटन दासले २९, सौम्य सरकारले ३० र महमुदुल्लाले ३० रन बनाएका थिए। भारतले १५ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै जितलाई आत्मसाथ गर्यो।