मोरङमा कुस्ती हेर्नेको लर्को

बिएल

लोप हुने अवस्थामा पुगेको कुस्ती खेल संरक्षणको प्रयास मोरङमा सुरु भएको छ। कुस्तीका सौखिन सर्वसाधारण आफै यो मौलिक खेललाई जोगाउन लागि परेका छन्।

स्वस्थ्य शरीर र मनोरञ्जनका लागि खेलिने कुस्ती पछिल्लो समय लोप हुँदै गएपछि संरक्षणका लागि चासो दिन थालिएको हो। मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुन थालेपछि त्यसलाई संरक्षण र सम्वद्र्धनको प्रयास हुन सकिरहेको थिएन। यसलाई संरक्षण र सम्वद्धनका लागि विराटनगर–१८ बुधनगरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना गरिएको छ। 

निर्मला प्रकरणमा डिएनएको च्याप्टर बन्द, विर्य पुरुषको नभएको प्रतिवेदनकाे ठहर

स्थानीय युवाहरु सम्मिलित दिपावली तथा छठ पूजा समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल तथा भारतका पहलमानहरुले हजरौं दर्शकमाझ कुस्तीमा आफ्नो कलाकौशल र शक्ति प्रर्दशन गरेका छन्। प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ, बनारस र बिहारका ४० जनासहित नेपालका विभिन्न जिल्लाका २५ जना पहलमान सहभागी भएका छन्।

कुस्ती संरक्षणकै लागि आयोजना गरिएको प्रतियोगितालाई निरन्तरता दिइने प्रतियोगिता संयोजक रवीन्द्रकुमार दास तत्माले बताए। मौलिक परम्परा अनुसार आयोजना गरिएको प्रतियोगितामा सहभागीलाई हौसला प्रदान गर्न परम्परागत रुपमा ढोल बजाएर उत्साहित बनाइएको थियो। नवलपरासीका पहलमान बसन्त थापा र भारतका प्रतिस्पर्धीबीच भएको कुस्ती प्रदर्शनले दर्शक अति रोमाञ्चित भएका थिए।

राजनीति छोडेर उद्यमी बनेका युवा (भिडियाेसहित)

तीन दशक अघिसम्म मोरङ, सुनसरी, सिरहा, सप्तरी र धनुषा लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रहरुमा उल्लेख्य संख्याका पहलमान थिए। तर पछिल्लो समय मनोरञ्जनका आधुनिक साधनको विकास भएपछि कुस्ती प्रतियोगिताको आयोजना शुन्य प्राय हुँदा यो खेलबाट अधिकांश खेलाडी पलायन भएको तत्माको भनाइ छ।

कुस्ती सांस्कृतिक र पारम्परिक खेल हुनुका साथै स्वास्थ्यसँग समेत प्रत्यक्ष गाँसिएको खेल भएकाले यसको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको पहलमान बसन्त थापाले बताए। सीमाक्षेत्र नजिकै आयोजना गरिएको प्रतियोगिता हेर्न विराटनगरसहित आसपासका गाउँपालिका र भारतीय सीमावर्ती क्षेत्रका दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। भारतबाट आएका पहलमान समेत कुस्ती हेर्न उर्लिएको जनसागर देखेपछि हौसिएका थिए।

भारत राजस्थानका पहलमान बादल सिंहले कुस्तीमा दर्शकको उपस्थितिले आफूलाई हौसला प्रदान गरेको बताए। ‘यति धेरै दर्शक हुन्छन् जस्तो लागेकै थिएन,’ उनले भने, ‘दर्शकको सहभागिताले कुस्ती प्रतिको मोह धेरै रहेको प्रष्ट हुन्छ।’

प्रकाशित मिति: : 2019-11-04 05:15:49

प्रतिकृया दिनुहोस्