जमैकासँग हार्यो सन्दिपको टीम

तस्बिरः एजेन्सी

क्यारेबियन प्रिमियर लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा सन्दिप लामिछानेको टिम बार्बेडोस ट्राइडेन्ट्सले दोस्रो हार व्येहोरेको छ। जमैकास्थित तल्लावाहले घरेलु मैदानमा बार्बेडोसलाई ४ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो।

पहिले ब्याटिङ गर्दै बार्बेडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले ६ विकेट गुमाएर पुरा गर्‍यो।

१८.३ ओभरमा लक्ष्य पुरा गर्ने क्रममा जमैकाका कप्तान चाडविक वाल्टनले अविजित ५१ रन बनाए। ग्लेन्न फिलिपले २८, जेभेल्ले ग्लेनले २७ तथा क्रिस गेलले २२ रन बनाएका थिए।

बार्बेडोसको बलिङमा जेसन होल्डर र हेडन वाल्सले २/२ तथा सन्दिप लामिछाने र रोशन प्रिमुसले १/१ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो।

उसका लागि एशले नर्सले सर्वाधिक ३७ रन बनाए। यस्तै जेपी डुमिनिले ३१ रन बनाएका थिए। जमैकाको बलिङमा जाहिर खानले ३ विकेट लिए भने जर्ज वोर्कर र रमाल लुइसले २/२ विकेट लिए।

हार पछि बार्बेडोस अंक तालिकाको पाँचौ स्थानमा रहेको छ। यसअघि पहिलो खेलमा गुएना अमेजोन वारियार्ससँग ४७ रनले पराजित भएको बार्बेडोसले दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई १८ रनले पराजित गरेको थियो।

प्रतियोगिता अन्तर्गत बार्बेडोसले चौथो खेल शनिबार बिहान ५:४५ बजे ड्यारेन स्यामी कप्तानीको सेन्ट लुसिया जुक्स बिरुद्ध खेल्नेछ।

 

सन्दिपको प्रदर्शन

अघिल्लो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका सन्दिपले जमैकाबिरुद्ध मध्यम प्रदर्शन गरे।

ब्याटिङतर्फ सन्दिपले विदेशी फ़्रेन्चाइज् लिगमा आफ्नो व्यक्तिगत सर्वाधिक रन बनाए। नवौं विकेट गुमेपछि १८ औं ओभरमा एघारौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दिपले अविजित ८ बलमा १० रन बनाए।

यसअघि ८ रन सन्दिपको उच्च स्कोर थियो। यस क्रममा उनले अन्तिम ओभरको दोस्रो बलमा डेरभल ग्रिनले गरेको फुलटस बललाई कभरतर्फ चौका प्रहार गरेका थिए।

बलिङ -वर्षकै पहिलो मेडन ओभर

सन्दीपले जमैकाविरूद्ध ४ ओभर बलिङ गर्दै १ विकेट लिए। यस क्रममा उनले १ मेडन राखेर ३५ रन खर्चिएका थिए। उनले चार छक्का र १ चौका दिएका थिए।

पहिलो ओभर : ८ रन ( ० , ४ , ० , १ , २ , १ ) : पाँचौ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दिपले ८ रन खर्चिए।

ओभरको दोस्रो बलमा क्रिस गेलले सन्दिपको गुगलीलाई स्विप गर्दै चौका प्रहार गरे। त्यस बाहेक गेललाई सन्दिपले शान्त राख्न सफल रहे। ४ बल गेलले खेल्दा २ बलमा रन बनाउन सकेनन् भने एउटा सिंगल र एउटा चौका प्रहार गरे।

दोस्रो ओभर : १५ रन ( ० , १ , ६ , १ , १ बाई , ६ ) :

दशौं ओभरमा दोस्रो ओभर बलिङ गरेका सन्दिपले ओभरमा १५ रन खर्चिए। यस क्रममा ओभरको तेस्रो बलमा जभेल्ले ग्लेनले लङअनमा पुल गर्दै छक्का प्रहार गरे। त्यसपछि ओभरको अन्तिम बलमा सन्दिपले लेग स्टम्प बाहिर गरेको बललाई स्क्वायर लेगमा छक्का प्रहार गरे।

तेस्रो ओभर : १३ रन र १ विकेट ( ० , ६ , १ , ६ , विकेट , ० ) :

१३ औं ओभरमा बलिङमा आएका सन्दिपको पहिलो बलमै विकेट लिने मौका विकेट किपरले स्टम्पिङ मिस गर्दा गुमाए।

अगाडि बढेर खेल्ने क्रममा सन्दिपको लेग स्पिन छुन नसकेका वाल्टन विकेटकिपरको गल्तिले बच्न पुगे। लगत्तै बलमा वाल्टनले छक्का हिर्काए। त्यसपछि चौथो बलमा जभेल्ले ग्लेनले सन्दिपको गुगलीलाई लंगअन माथि छक्का प्रहार गरे।

ओभरको पाँचौ बलमा भने सन्दिपले जभेल्ले ग्लेनको विकेट लिए। गुगलीलाई लंगअनमा प्रहार गर्ने क्रममा ग्लेन क्याच आउट हुन पुगे।

चौथो ओभर : मेडन ओभर ( ० , ० , ० , ० , ० ,० ) :

१५ औं ओभरमा उत्कृष्ट बलिङ गरेका सन्दिपले कुनै पनि रन दिएनन्। यो वर्ष विदेशी टी-२० लिगमा गरेको यो नै सन्दिपको एक मात्र मेडन ओभर हो।

गत वर्ष भने सन्दिपले कुल ३ मेडन ओभर गरेका थिए। सन्दीपको ६ वटै बलमा वाल्टनले रन बनाउन सकेनन्।

प्रकाशित मिति: : 2019-09-16 07:59:31

प्रतिकृया दिनुहोस्