मन्त्रीद्वारा रङ्गशाला निरीक्षण

तस्बिरः बिएल

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरास्थित निर्माणाधीन फुटबल रङ्गशालाको आज निरीक्षण गरेका छन्। सो अवसरमा उनले हालसम्म भएको कामको प्रगतीबारे जानकारी लिए।

नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को महिला फुटबल प्रतियोगिता उक्त रङ्गशालामा सञ्चालन हुने भएकाले आगामी कात्तिक १५ गतेभित्र काम सम्पन्न गर्न मन्त्री विश्वकर्माले निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बराललाई निर्देशन दिए।

बजेटको अख्तियारी आउन ढिलाइ भए पनि सागका पूर्वाधार निर्माणमा बजेट अभाव हुन दिन्नौं, उनले प्रतिबद्धता व्यक्त गरे। मन्त्री विश्वकर्माले विभिन्न खेलका सङ्घलाई समेत निर्माणको काममा सघाउन आग्रह गरे।

परियोजनाका प्रबन्धक बरालले हालसम्म रङ्गशालाको ४० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए। उनले १० हजार दर्शक अटाउने प्यारापिट तयार भइरहेको बताए। अठार हजार ५०० दर्शक क्षमताको फुटबल रङ्गशाला रु एक अर्ब २८ करोड २२ लाखको लागतमा निर्माण भइरहेको छ ।

प्रकाशित मिति: : 2019-09-15 19:17:09

प्रतिकृया दिनुहोस्