प्रधानमन्त्री ओली आज भारत जाँदै

तस्बिरः एजेन्सी

प्रधानमन्त्री केपी ओली आज भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाँदैछन्।

नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन्।

ओली बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जान लागेका हुन्।

भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार नै शपथ ग्रहण गर्दैछ।

मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए। यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याएका छन्। प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन लागेका हुन्।

मोदीको शपथ ग्रहण समारोहमा बिम्स्टेक सदस्य मुलुकलाई मात्र बोलाइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ। उनले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले मोदीसँगको भेटमा नेपाल र भारतका दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

सार्क अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कको विषयमा पनि कुरा उठाउन सक्ने आँकलन गरिएको छ।

त्यस्तै उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्ने विषयमा भएको अलमलको कुरा पनि उठाउनेछन्। प्रधानमन्त्रीसँग छलफलमा राजदूत निलाम्बर आचार्य र सल्लाहकार डा. राजन भट्टराई पनि सहभागी हुनेछन्।

हैदराबाद हाउसमा हुने भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्ध, क्षेत्रीय चासोलगायत विषयमा छलफल हुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत भ्रमणमा जानेछन्। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कनेछन्।

प्रकाशित मिति: : 2019-05-30 07:41:55

प्रतिकृया दिनुहोस्