नेपालले सगरमाथा नाप्न पठाएका प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की सगरमाथा शिखरमा पुगेका छन्। उनीहरू नेपाली समयअनुसार मे २२ को विहान ३ बजेर १५ मिनेट जाँदा शिखर पुगेका हुन्।
नेपालले पहिलो पटक आफैँले गर्न लागेको सगरमाथाको उचाइ मापन गर्ने अभियानका क्रममा नेपाली सर्भेयरहरू त्यहाँ पुगेका हुन्।
नापी विभागका निर्देशक मोदर ढकालले उनीहरूले भूउपग्रहको संकेतसँग सम्बन्ध स्थापित गर्ने ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम (जीएनएसएस) उपकरण राखेर सगरमाथा शिखर पुगेको पुष्टि गरेको बताए। उनले भने- 'सर्भेयरहरूले आफ्नो जिम्मेवारी पूरा गरेका छन्।'
उनीहरूले करिव आधा घण्टा शिखरमा बिताएको बताउँदै पर्यटन विभागमा पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले भनिन्- नापी अधिकृतहरू 'विशेष अनुकुल मौसम' पर्खेर अन्य आरोहीको चाप नहुने समयमा चुचुरोमा पुगेका हुन्।
सगरमाथाको शिखरमा पुगेर जीएनएसएस उपकरण राख्नु सगरमाथा मापन अभियानको एक महत्वपूर्ण हिस्सा भए पनि यो एक लामो र जटिल प्रक्रिया भएको नापी विभागका निर्देशक मोदर ढकाल बताउँछन्। उनका अनुसार यो प्रक्रिया पूरा गर्न कम्तिमा पनि अरू ६ महिना लाग्छ।
यसअघि भारतले सन् १९५० मा पहिलोपटक सगरमाथा नापेर यसको उचाई ८८४८ मिटर भएको बताएको थियो। उसैले यो हिमालको नाममा माउन्ट एभरेष्ट राखेर संसारकै सबैभन्दा अग्लो हिमाल भएको प्रमाणित गरिदियो। त्यसैलाई विश्वास गरेर संसार भनिरहेको छ - संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा।
त्यसपछि सन् १९९९ मा अमेरिकाको न्याशनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथा नापेर यसको उचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकालिदिएको थियो। दुई मिटर अग्लो देखाइए पनि नेपालले त्यसलाई मान्यता दिएन।
चिनियाँ नापी सर्भेले त सन् २००५ मा त सगरमाथाको हिउँको उचाइ चार मिटर जति रहेको बताउँदै यसको वास्तविक उचाइ ८,८४४ मात्र रहेको बतायो।
त्यसपछि सगरमाथाको उचाइलाई लिएर संसारभर विवाद चल्यो। अन्तत: सम्बन्धित सबै पक्षसँग सम्वाद गरेर अर्को मापन नभएसम्मका लागि सगरमाथाको उचाइ ८,८४८ मिटर नै मान्ने सहमति जुतेको थियो।
यही सहमतिअनुसार अर्को व्यवस्थाका रूपमा नेपालले यसपटक आफैं आफ्ना प्राविधिकहरू प्रयोग गरेर सगरमाथा नाप्ने अभियान सञ्चालन गरिरहेको छ। यसले दिने निष्कर्षबाटै सगरमाथाको वास्तविक उचाइ निर्क्यौल गरिने भएकाले नेपाल सबैले विश्वास गर्ने प्रविधि र प्राविधिक प्रयोग गरेर सगरमाथा नापिरहेको छ।
यतिबेला धेरैको मनमा एउटै प्रश्न छ- यो अभियानले सगरमाथाको उचाइ ८८४८ मिटर नै भएको निष्कर्ष निकाल्ला त ?