श्रीलङ्कामा फेरि तनाव, देशैभरी कर्फ्यू, सामाजिक सञ्जाल बन्द

तस्बिरः एजेन्सी

मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएसँगैश्रीलङ्कामा देशभरि रात्रिकालीन निषेधाज्ञा जारी भएको छ।

स्थानीय समयानुसार मङ्गलबार राति ९:०० बजेदेखि बुधबार बिहान ४ बजेसम्म मुलुकभर कर्फ्यू लगाइएको हो।

यद्यपी अधिकांश ठाउँमा निषेधाज्ञा हटाइएपनि पश्चिमोत्तर प्रान्तमा भने अर्को सूचना जारी नगरेसम्म कर्फ्यू कायम राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

श्रीलंकाली सेना र प्रहरीले अब देश सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै पुनः हिंसात्मक घटना बढेको हो।

मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको थियो।

केही स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्याससमेत प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हिंशामा परी कम्तीमा एक जनाको मृत्यु भएको थियो।

इस्टर पर्वको दिन इस्लामिक लडाकुहरूले गिर्जाघर तथा होटलहरूमा आत्मघाती आक्रमण गरेर २५० जनाभन्दा बढीलाई मारिएपछि श्रीलङ्कामा साम्प्रदायिक तनाव चुलिएको हो।

यसैबीच टेलिभिजनमा प्रसारित सम्बोधनमा प्रहरी प्रमुख चन्दन विक्रमरत्नले दङ्गा गर्न खोज्नेविरुद्ध "अधिकतम बल" प्रयोग गरिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घले अहिलेको अस्थिरताले गत महिना भएको घटनाको अनुसन्धान प्रभाव पारेको भन्दै सबैलाई शान्त रहन आग्रह गरेका छन्।

इस्टरमा भएको घटनापछि सम्भावित प्रत्याक्रमण हुन नदिन सुरक्षाकर्मीहरू सफल भएको सरकारी पक्षको दाबी गरेको छ।

हिंसाका क्रममा पश्चिमोत्तर नगर किनियामास्थित एउटा मस्जिदमातोडफोड भएको थियो। आक्रमणकारीहरूले मस्जिदमा भएका इस्लामिक धर्मग्रन्थ कुरानका पुस्तकहरू फालिदिएका थिए।

समाचारसंस्था रोएटर्सका अनुसार सेनाले नजिकै रहेको एउटा पोखरीमा हतियार रहेको आशङ्कामा खोजी गरेपछि एउटा समूहले मस्जिदमा पनि खोजी गर्न माग राख्दै अरूलाई उत्तेजित पारेका थिए।

इसाईहरूको बाहुल्य रहेको चिल नगरमा फेसबुकमा विवाद सुरु भएपछि र मस्जिद तथा मुस्लिम समुदायका मानिसले सञ्चालन गरेका पसलहरूलाई तारो बनाइएको प्रहरीले जनाएको छ।

हिंसा फैलाउनेगरी फेसबुकमा विवादास्पद कुरा लेख्ने एक मुस्लिम व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

पुट्टलम जिल्लामा एउटा भिडले आक्रमण गरी धारिलो हतियार प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ।

सामाजिक सञ्जाल फेरि बन्द

हिंसा रोक्ने उद्देश्यले श्रीलंका सरकारले देशभर फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सन्जालहरुमा प्रतिबन्ध लगाएको छ।

बीबीसीका अनुसार ट्वीटरमा भने रोक लगाइएको छैन। प्रधानमन्त्री रनिल विक्रमासिंघेले ट्वीटरमा लेखेका छन्, ‘म नागरिकहरुलाई शान्त रहन र गलत जानकारीमा नभड्किन अपिल गर्दछु। सुरक्षाकर्मीहरु आतंकवादीहरुलाई नियन्त्रणमा लिन र देशमा सुरक्षाको प्रत्याभूति दिलाउन हरसम्भव प्रयास गरिरहेका छन् ।’

श्रीलङ्कामा कुल जनसङ्ख्या दुई करोड २० लाख छ। जसमध्ये ७० प्रतिशतभन्दा बढी जनसङ्ख्याले बौद्ध धर्म मान्छन्। देशको कानुनमा पनि उनीहरूलाई प्राथमिकता दिइएको छ र संविधानमा पनि विशेषाधिकार दिइएको छ।

त्यहाँ १२.६ प्रतिशत हिन्दू र झन्डै १० प्रतिशत मुस्लिम जनसङ्ख्या रहेको छ।

सन् २०१२ को जनगणना अनुसार त्यहाँ करिब १५ लाख इसाईहरू रहेका छन्। त्यसमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका हुन्।त्यसमध्ये झन्डै १० प्रतिशत मुस्लिम छन्।

बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।

प्रकाशित मिति: : 2019-05-14 10:51:15

प्रतिकृया दिनुहोस्