बार्सिलोना उपाधिनजिक

तस्बिरः एजेन्सी

बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि यात्रालाई थप बलियो बनाएको छ।

ला लिगा अन्तर्गत शनिबार राति रियल सोसिडाडलाई २–१ ले हराउँदै बार्सिलोनाले उपाधि यात्रा थप बलियो बनाएको हो।

नोउ क्याम्पमा शनिबार राति प्रतिस्पर्धात्मक बनेको खेलमा बार्सिलोनालाई जिताउन क्लेमेन्ट लेङ्लेट र जोर्डी अल्वाले गोल गरे। सोसिडाडका लागि जुवानमीले गोल गरेका थिए।

खेलको ४५औं मिनेटमा औसमाने डेम्वेलेको पासमा क्लेमेन्ट लेङ्लेटले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, ६२औं मिनेटमा जुवानमीले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसको दुई मिनेटपछि नै कप्तान लियोनेल मेसीको पासमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए।

यो जितसँगै ला लिगामा ५ खेल बाँकी रहेको अवस्थामा बार्सिलोनाले ३३ खेलबाट ७७ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको मड्रिडले समान खेलबाट ६८ अंक जोडेको छ। एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडले ६१ अंक जोड्दै पछ्याइरहेको छ।

यो सँगै ला लिगामा अब पाँच चरणका खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोसँग ९ अंकको तथा रियलसँग १६ अंकको फराकिलो अग्रता बनाएको छ।

बार्सिलोनाले अब पाँच मध्ये ३ खेल जिते उपाधि जित्नेछ। यो अवस्थामा एट्लेलिटको सबै ५ खेल जिते पनि बार्सिलोनाले उपाधि रक्षा गर्नेछ।

प्रकाशित मिति: : 2019-04-21 09:06:33

प्रतिकृया दिनुहोस्