फिर्ता बोलाइए कतारका राजदूत कोइराला

तस्बिरः बीएल फाइल

सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदको निर्णय सुनाउँदै राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिए।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले आवश्यक परेकाले कोइरालालाई कतारको राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएपनि त्यसको कारण भने खुलाउन चाहेनन्।

राजदूत फिर्ता बोलाउने अधिकार सरकारलाई भएकाले सोही अनुसारको निर्णय गरिएको मन्त्री बाँस्कोटाको भनाई छ।

राजदूत कोइरालालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले कतारका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो।

त्यसैगरी सरकारले खुलामञ्चको जग्गामा अस्थायी सटर बनाउने अनूमति नदिइएको पनि स्पष्ट पारेको छ। मन्त्री बास्कोटासँगै पत्रकार सम्मेलनमा सहभागी भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले खुलामञ्चको जग्गा अतिक्रमण गरेर अस्थायी सटर बनाउने अनुमति नदिइएको प्रष्टयाए।

तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले तीनकुनेको जग्गामा बसपार्क बनाउने निर्णय जग्गा विवादका कारण ढिलाई भएपछि खुलामञ्चको जग्गामा बसपार्क सञ्चालन गर्न अस्थायी रुपमा अनुमति दिइएको पनि स्मरण गराए।

मन्त्री बाँस्कोटाले भने सो सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए।

स्थानीयबासीले खुलामञ्चको जग्गा अतिक्रमण गरी अस्थायी सटर बनाउन दिएको भन्दै विरोधमा विहीबारदेखि आन्दोलन सुरु गरेका छन्।

प्रकाशित मिति: : 2019-04-25 22:19:14

प्रतिकृया दिनुहोस्