राष्ट्रपति भण्डारी अप्रिल २४ मा चीन जाँदै, राजकीय हुने भयो भ्रमण

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण राजकीय भ्रमण हुने भएको छ। उनले चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा आगामी अप्रिल २४ मा गएर मे २ सम्म चीनको नौदिने भ्रमण गर्ने भएकी छिन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उनले बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएर फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

भ्रमणका क्रममा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने र पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ। यसैगरी अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक भएर नेपाली मण्डपको अवलोकन गर्ने, चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्तरुपमा सम्बोधन गर्ने, भोेजहरूमा सहभागी हुनेलगायतका कार्यक्रम रहेको प्रेस विज्ञप्तीमा जनाइएको छ।  

राष्ट्रपतिले  बेइजिङ जाँदा सान्सी प्रान्तको राजधानी सियान र फर्कदा चीनको स्वसाशित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्ने पनि  परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तीमा जनाइएको छ। 

प्रकाशित मिति: : 2019-04-19 23:27:53

प्रतिकृया दिनुहोस्