हेल्मेटको नयाँ सरकारी मापदण्डमा के छ, कहिलेदेखि लागू हुन्छ?

तस्बिरः सेताेपाटी

महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तले आइतबार पत्रकार सम्मेलनमा भने, 'अब दुईपाङ्ग्रे सवारी चालक र पछाडि बस्ने दुवैले गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट लगाउनुपर्ने कानुन आउँदैछ।'

उनका अनुसार यातायात ऐनको संशोधित मस्यौदामा यस्तो सिफारिस गरिएको हो।

ट्राफिक प्रमुख पन्तले भनेको गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट कस्तो हो त?

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग हामीले मंगलबार यही प्रश्न सोध्यौं।

उनका अनुसार विभागले हेलमेटको गुणस्तर मापदण्ड तयार गरिसकेको छ। दुर्घटना हुँदा टाउकोमा चोटको जोखिम कम होस् भनेर हेल्मेटको मापदण्ड तय गरिएको उनले बताए।

'जसरी खाद्यान्न, निर्माण सामग्री लगायतमा मापदण्ड तोक्छौं, त्यस्तै व्यवस्था हेल्मेटमा पनि गरेका छौं,' उनले भने, 'बजारमा पाइने सस्ता र कमसल हेल्मेटले यात्रुलाई सुरक्षा दिँदैन, त्यसैले सुरक्षित र गुणस्तरीय हुनु जरूरी छ।'

विभागले तयार गरेका मापदण्डमा हेल्मेटको आकार, बाहिरी र भित्री स्वरूप, लक, भाइजर, बाहिरको आवाज सुन्ने क्षमताजस्ता प्राविधिक पक्ष तोकिएका छन्।

बाहिरी भाग नकोतरिने, बलियो र घामपानीले नबिग्रिने हुनुपर्छ। चिल्लो र गोलाकार हुनु जरूरी छ। त्यस्तै, भित्री भाग 'पोलिस्ट्रिन' नामको प्लास्टिकजन्य पदार्थ वा त्यस्तै गुण भएका अरू पदार्थबाट बनेको हुनुपर्छ।

हेल्मेट आरामदायी बनाउन भित्री भागमा फोम 'पोलियुरेथन' वा त्यस्तै गुण हुनुपर्ने व्यवस्था गरिएको छ। लगाउँदा पसिना आउने, चिलाउने वा त्यसमा भएका पदार्थले कुनै किसिमका छालाजन्य रोग निम्त्याउन नहुने पनि मापदण्डले भनेको छ।

हेल्मेटमा कान र पछाडि गर्धनको माथिल्लो भाग छोप्ने कपडा हुनुपर्छ। मापदण्डसँग फरक पर्ने गरी कुनै किसिमका बाहिरी सामान जोड्न पाइँदैन।

प्रकाशित मिति: : 2019-05-22 14:12:11

प्रतिकृया दिनुहोस्