काभ्रेको सुन पसलबाट एसिड ल्याएर 'विष्णुले श्रीमती जलाए'

काठमाडौँ: बुधबार साँझ कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण भयो। साँझ भएको एसिड आक्रमण अरु कसैले नभइ आफ्नै श्रीमानले गरेको खुल्यो।

एसिड प्रहारबाट घाइते भएकी २२ वर्षीय युवतीलाई ओम अस्पताल हुँदै कीर्तिपुर अस्पताल पुर्‍याइयो। अहिले उनको उपचार भइरहेको छ।

आपसी विवादमा एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काभ्रे घर भएका विष्णु भुजेल एसिड आक्रमणको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले भुजेललाई नियन्त्रणमा लिँदा उनको कपडा एसिडले जलेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

भुजेल काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै आएका थिए। दुई बीच पाँच वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए। भुजेलले दोस्रो विवाह गरेकाले उनकी श्रीमती कालोपुलमा आमासँग बस्दै आएकी थिइन्।

प्रकाशित मिति: : 2019-05-16 14:25:44

प्रतिकृया दिनुहोस्