ककपिटमा निदाउने भारतीय पाइलट निलम्बित, पाकिस्तानीलाई जिम्मेवारी

निगमको एयरबस ३२० जहाज

नेपाल वायुसेवा निगमले एयरबस ३२० को प्रशिक्षक पाइलट (आइपी) लाई जहाज उडान गर्न प्रतिबन्ध लगाएपछि नयाँ आइपी नियुक्त गरेको छ।

संयोगबस प्रतिबन्धमा परेका प्रशिक्षक पाइलट भारतीय हुन्। उनको स्थानमा नियुक्ति गरिएका नयाँ आइपी चाहिँ पाकिस्तानी नागरिक हुन्।

नागराज जहाजको ककपिटमै निदाएको फोटो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निगमसँग अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

क्यानको निर्देशन अनुसार निगमले न्यारोबडी जहाजका आइपी नागराजलाई अघिल्लो हप्ता उडान प्रतिबन्ध लगाएको थियो।

प्रशिक्षक पाइलट नागराज ककफिटमै निदाएको विषयमा छानबिन गर्न क्यानले दिएको निर्देशनअनुसार निगमले ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ। छानबिन समितिमा हवाइ उडान हवाई सुरक्षा विशेषज्ञ रहेका बरिष्ठ पाइलट युवराज भट्टराई, अपरेसन विभागका डेपुटी डाइरेक्टर दिपु रुहार्जन र इन्जिनियर दिवाकर बन्जारा छन्।

छानबिन समितिले ककपिटमा निदाउने पाइलट नागराज, उनीसँगै रहेका अन्य क्याप्टेन, को–पाइलटसँगसमेत बयान लिई प्रतिवेदन बुझाउनेछ। वैशाख २६ देखि उनी बिदामा छन्। नागराज निगममा फर्के लगत्तै बुधबार वा बिहीबारसम्म समितिले उनीसँग बयान लिई क्यानलाई प्रतिवेदन दिने निगम स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2019-05-15 16:12:52

प्रतिकृया दिनुहोस्