काठेपोल विस्थापन गरिँदै

तस्बिर:एजेन्सी

विद्युत् लाइन विस्तारका लागि जिल्लामा प्रयोग भएका सबै काठेपोल चालू आर्थिक वर्षभित्रै विस्थापन गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका अनुसार हाल जिल्लामा करीब चार हजार काठेपोल प्रयोगमा छन्। जिल्लामा रहेका चार हजार काठेपोल विस्थापन गरी स्टिलपोल राखिने केन्द्र प्रमुख ललितनारायण चौधरीले जानकारी दिए।

उनका अनुसार आगामी असार मसान्तसम्म सबै काठेपोल हटाउने लक्ष्य राखिएको छ। त्यसका लागि कार्यालयका तर्फबाट काम अघि बढिसकेको चौधरीले बताए। गत आवमा प्राधिकरणले एक हजार १०० काठेपोल विस्थापन गरी स्टिलका पोल राखेको थियो। ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरणका लागि चालू आर्थिक वर्षमा रु दुई करोड प्राप्त भएको उनले जानकारी दिए।

चालू आवमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठेपोल प्रतिस्थापन कार्यक्रमअन्तर्गत मन्त्रालयबाट उक्त रकम विनियोजन गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । मागअनुसारका सबै स्थानीय तहलाई उक्त पोल वितरण गरिने कार्यालयका प्रमुख दलबहादुर तामाङले बताए।

त्यसका लागि बोलपत्र प्रक्रियामा जाने तयारी भइरहेको उनले जानकारी दिए। विभिन्न स्थानीय तहबाट कूल एक हजार २०० भन्दा बढी पोल माग भएका कार्यालयले जनाएको छ। मन्त्रालयबाट प्राप्त पोल कार्यालयले नै सम्बन्धित स्थानीय तहमा ढुवानी गर्नेछ। पोल ठड्याउने, तार सार्नेलगायतका काममा नेपाल विद्युत् प्राधिकरणले गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2019-12-11 11:11:38

प्रतिकृया दिनुहोस्