त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ। मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेलको टिकट मूल्यवृद्धिको विरोध गर्न रंगशालाबाहिर जम्मा भएका सर्वसाधारणलाई प्रहरीले लाठ्ठीचार्ज गरेको हो।
ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मीमाथि समेत हातपात गरेको छ। नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई डिएसपी रुगम कुँवरलगायत प्रहरीले एक्रिडेसन कार्ड लगाएको अवस्थामानै घेरा हालेर कुटपिट गरेको हो।
चापागाईमाथि जाइलागेको प्रहरीले उनको छातीमा लात्ताले हिर्काउनुको साथै कुटपीट गरेको थियो। घाइते भएका पत्रकार चापागाईको राष्ट्रिय खेलकुद परिषद्स्थित खेलाडीको स्वास्थ्य परीक्षण गर्ने स्थानमा उपचार भइरहेको छ ।
त्यस्तै, अन्य पत्रकारलाई पनि प्रहरीले फोटो खिचेको भन्दै क्यामारा फुटाउने धम्की दिएको थियो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरे। ‘टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन्। त्यसपछि ठेलठाल गरेर हटाइएको हो।’ उनले भने।