हजार माईल पर हजार दिन बिताएको जिन्दगीले आफ्नै रफ्तारमा समयका पलहरु घुमाईरहेको छ। बर्षौ भयो देश, जन्मेको माटो,भाषा र सभ्यता मनमा बोकेर परको देश भासिएको। जीवनको उर्बर कालखण्ड भोगाइका अनगिन्ती कथाहरुमा आफ्नो ज्यून बाँकी जिन्दगीको स्वरुप देखेरै बितिरहेको छ।
म सपनाको कुरा खुबै रुचाउछु। आखिर सपनै नहुँदा हुन् त जिन्दगी पनि निरस हुँदो हो भन्ने जीवन विश्वाश मेरो। देशको व्यवस्थाले निर्धारण गरेको दूर सुदूरपश्चिम क्षेत्र जहाँ म जन्मे सायद विज्ञान र प्रबिधिले पनि दूरसुदूर देखिरह्यो। स्कुले जिन्दगी दूरसुदूरकै जन्मथलो डडेल्धुरा जिल्लाको रुपालमा बित्यो। मैले सपना यहि रुपालको आकाशमुनि देखे, आफ्नै जिन्दगीलाई भिन्नभिन्न चित्रमा उतारिरहे ५० को दशकमा।
२०५८ सालमा देशले संकटकाल सामना गरिरहँदा जन्मथलो रुपालको आकाश मुनि सपना देखिरहेको म बबुरोले पनि सपनामा उडान भर्ने दुश्साहस गर्दै पहिलो चोटी विज्ञान र प्रबिधिलाई देखे। आफू जन्मेको हुर्केको बढेको र पढेको आकाश मुनिबाट अर्को आकाशमुनि पुगे। आकाश फराकिलो हुँदा जिन्दगीका सपना पनि निकै परिमार्जित र फराकिला हुँदा रहेछन्।
६० को दशक जिन्दगीले निकै सिकायो। स्कुल र कलेजले सेता पन्नाका किताबमा नलेज छ भन्ने ठोकुवा जसरी गरिरहे त्यसै गरी समय र परिस्थितिले मसँग जिन्दगी भोग्दै जाँदा सेता पन्नाको भन्दा फरक र बृहत ज्ञान छ भनेर गिज्याइरह्यो। म सपनाको दिवाना अनि आकाश फराकिलो पार्न सौखिन।
म मेरै देशको राजधानी आए। आकाश फराकिलो भयो। सपना पनि फराकिला भएछन मेरा। मोटाएछन् बर्षौ पहिले देखिएका सपनाहरु,दुब्लाएछन् सम्बन्धहरु,छुटेछन् साथीसंगी कहिँकतै,जुटेछन् आत्मबिश्वाशका धर्काहरु कोर्न र फेर्न जिन्दगीको स्वरुप यहि ६० दशकमा।
७० को दशकको सुरुवातमै आफैले बोकेको आफ्नो जिन्दगीको विश्वाश गलत साबित गर्न समयले घमाशान युद्दको उद्घोष गर्यो। म आफ्नै जीवन विश्वाश गलत रहेछ भन्ने निर्क्यौलमा पुगे अर्थात मेरो जीवनकालमा मेरो देशको शासन व्यवस्था मैले भोग्न सक्ने शासन व्यवस्था जस्तो पाउन सकिदैन कि भन्ने डरले मलाई परको देशमा भासिन उत्प्रेरित गर्यो। म सहि गलत आफ्नो ठाँउमा छु होला तर मैले जन्मौ जन्म देशमै बस्छु। आफ्नो जन्मेको देशको शासन व्यवस्था नै संसारै भरीका उत्कृष्ट शासन व्यवस्था सरह भोग्छु भन्ने बोकेको जीवन विश्वास चै पक्कै गलत साबित भयो।
आफैले देखेका सपना सबै सहि र सबै गलत नहुन सक्छन। ती त केवल सपनै मात्र हुन् सक्छन्। हजार माईल परको देश अर्थात परको देशलाई आफ्नो देश हो झैँ गरी दावी गरिरहेको म हजार ७१ दिन देशै बिहिन भएको पीडा अनुभूत गर्ने सौभाग्यशाली पनि हुँ। यथार्थमा देश कागजले भूगोलमा तानिएका धर्काले निर्धारण गर्दो रहेछ। म सोच्थे देश निर्धारण भूगोलमा तानिएका धर्काले गर्छ कसरी?
सपनाका शहर,सपनाको शासन व्यवस्था,सपनाकै युरोप,म आफै सपनाको दीवाना, सपना देखनै पर्ने रोगले ग्रसित, भविष्यको डरले त्रासित, परको देशलाई आफ्नै देश बनाउन लागे। जन्मेको देशले भूपू नेपाली, भगौडा,पिआरधारे भन्न सुरु नगर्दै मैले यो परको देशलाई आफ्नो देश बनाउन सक्नु पर्छ भन्ने सपनाले हजार ७१ दिन पोर्चुगललाई मेरो देश हो भनेर दावी गर्दै बिताए।
देश हो चै के? प्रश्न यहि थियो मेरो। देश कागजको टुक्रो र भूगोलको धर्कोभन्दा पर यथार्थमै छैन रहेछ। हो!! मेरो सपनामा देश त्योभन्दा पर हुनु नै आफैले बोकेको जीवन विश्वास गलत साबित हुनु हो। हजारौं दिन जरिवाना तिरेर बनाएको कागजको टुक्रो मेरो देश बन्दै छ। हजारौं सपना देखेको त्यो आकाश मुनिको मेरो जन्मेको देश अब मेरो देश रहेन। वा गज्जब छ सपनाको उडान।
आकाश फराकिलो पार्यो भने संसार फराकिलो हुन्छ रे। तर जुन आकाश मुनि बसेर आकाश फराकिलो पार्ने सपना बुनिएको थियो सायद त्यो आकाश बिरानो हुँदो रहेछ। कुनै बेला अहिलेको आकाशमुनि हुने सपना देखिन्थ्यो। अहिले यहि आकाशमुनिबाट सपना देख्छु त्यो आकाश जसले देखाएको थियो हजारौं कोश परको आकाशमुनिको जिन्दगीको फरक चित्र।