प्रचण्डले बोलाए सचिवालय बैठक

फाइल तस्बिर: बिएल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय  बैठक बोलाएका छन्।

अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन्। मंसिर ४ गते नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि उनले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन्।

समसामयिक विषयमन छलफल गर्न बैठक बोलाइएको नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले बताए।  बैठकमा सचिवालयका ६ सदस्य सहभागी छन्।

सचिवालयका ९ सदस्यमध्ये पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ अस्पताल भर्ना भएका कारण बैठकमा अनुपस्थित रहेका हुन्। बैठकमा सचिवालय सदस्यद्वय झलनाथ खनाल र ईश्वर पोखरेल पनि अनुपस्थित छन्। वरिष्ठ नेता खनाल राजधानी बाहिर रहेका कारण बैठकमा अनुपस्थित रहे पनि उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल सहभागी नहुनुको कारण खुल्न सकेको छैन।

बैठकमा उपनिर्वाचन परिणामको समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ। बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बैठकलाई जानकारी गराएको बताइन्छ।

प्रकाशित मिति: : 2019-12-04 09:47:46

प्रतिकृया दिनुहोस्