प्रधानमन्त्री ओली र सचिनबीच बालुवाटारमा भेट

बिएल

नेपालमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

सचिन प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार मध्याह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीसँगको भेटका क्रममा सचिनले नेपालमा क्रिकेटको संभावनाका बारेमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)का सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए ।

सचिनले शनिबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट समेत खेलेका थिए।

सचिनले शनिबार नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई पनि विभिन्न सुझाव दिएका थिए। सचिन आइतबार नै भारत फर्किदै छन्। 

सन् २०१३ मा सक्रिय खेल जीवनबाट सन्न्यास लिएका सचिनको नाममा अझै पनि विश्व क्रिकेटका थुप्रै कीर्तिमान कायमै छन्।

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक प्रहार गर्ने खेलाडी हुन्। उनले टेस्टमा ५१ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक हिर्काएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान पनि सचिनकै नाममा छ। उनले टेस्टमा १५ हजार नौ सय २१ र एकदिवसीयमा १८ हजार चार सय २६ रन बनाएका छन्।

उनी सर्वाधिक विश्वकप खेल्ने खेलाडी पनि हुन्। सचिन र पाकिस्तानका जाभेद मियाँदादले ६ वटा विश्वकप खेलेका छन्। एकदिवसीय क्रिकेटमा सर्वाधिक प्लेयर अफ दि सिरिज हुने खेलाडी पनि सचिन नै हुन्। उनी १५ पटक प्लेयर अफ दि सिरिज घोषित भएका छन्। 

सचिन एकदिवसीय क्रिकेटमा दोहोरो सतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन्। उनी एउटै विश्व कपमा सर्वाधिक अर्धसतक प्रहार गर्ने खेलाडी पनि हुन्। 

यसैगरी एउटै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि सचिनकै नाममा छ। उनले सन् २००३ को विश्वकपमा ११ पाली खेल्दै कुल ६ सय ७४ रन बनाएका थिए। एउटै विश्वकपमा सर्वाधिक चौका हिर्काउने खेलाडी पनि हुन्, सचिन। उनले सन् २००३ कै विश्वकपमा ७५ वटा चौका प्रहार गरेका थिए। 

प्रकाशित मिति: : 2019-11-17 14:33:17

प्रतिकृया दिनुहोस्