मेसीसँग बार्सिलोनाले सदाका लागि सम्झौता गर्न चाहन्छ : डाइरेक्टर एल्बिडाल

फाइल तस्बिर

अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीसँग बार्सिलोनाले सदाका लागि सम्झौता गर्ने भएको छ। मेसीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ सम्म छ। तर केही मिडियाहरुले सम्झौता अवधिको अन्त्यमा क्लब छाड्न सक्ने कुरा आइरहेको बेला बार्सिलोनाले यो कुरा बताएको हो।

बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर एरिक एल्बिडालले भने, ‘ मलाई थाहा छ क्लब अध्यक्षले सम्झौता सदाका लागि गर्ने कुरा गरिरहनु भएको छ ।’यद्यपि, निर्णय मेस्सीको हातमा रहेको उनले बताए ।

पाँचपटकका बालोन डि’ओर विजेता मेसीसँगको सम्झौता बार्सिलोनाकोे लागि प्राथमिकतामा राखेको उनले बताए। ‘मेसी हाम्रा लागि महत्त्वपूर्ण खेलाडी हुन्।’ उनले एक पत्रकारसँग कुरा गर्दै भनेका छन्, ‘हामी उनलाई प्रथामिकतामा राख्ने गछौं।’


३२ वर्षीय मेसीले बार्सिलोनाबाट डेब्यु गरेको गत महिनामात्र १७ वर्ष पूरा भएको छ। १७ वर्षको उमेरमा डेब्यु गरेका उनले ६९८ खेलमा ६०० गोल गरिसकेका छन्। उनले बार्सिलोनाबाट कीर्तिमानी ३४ उपाधि जितेका छन्, जसमा १० ला लिगा, चार च्याम्पियन्स लिग र ६ कोपा डेल रे पनि पर्छ।

उनले अहिलेसम्म ८ पटक बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् । पछिल्लोपटक नोभेम्बर २०१७ मा भएको थियो र, रिलिज क्लज ७०० मिलियन पाउण्ड ताेकिएकाे छ।

प्रकाशित मिति: : 2019-11-17 12:05:36

प्रतिकृया दिनुहोस्