बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ।
ढाकामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनायो।
पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए। तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा नेपालको स्कोर ३ रन मात्रै थियो। कुशलले बिहीबार भारतविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका थिए । कप्तान ज्ञानेन्द्र भने भारतविरुद्ध पनि पहिलो ओभरको दोस्रो बलमा शून्य रनमै आउट भएका थिए।
नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रनको योगदान गरे । १३९ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे । मोहमद आसिफ शेखले ४२ रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७ रन, विनोद भण्डारीले १५ रन बनाए ।
अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
हङकङका मोहमद अजिज खानले ३ विकेट लिए । यस्तै नस्रुलाह राना र एहसान नवाजले २/२ लिए।
पहिलो खेलमा भारतको यू–२३ टोलीसँग ७ विकेटको हार व्यहोरेको नेपाललाई समूह चरण पार गर्न आजको खेल जित्नैपर्ने हुन्छ।